डोटीमा गाउँको बाटो हिड्दा कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीलाई कुटपिट


डोटी, २० जेठ : डोटीमा स्वास्थ्यकर्मीलाई कुटपिट भएको छ। शिखर नगरपालिका वडा नम्वर-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरलाई कुटपिट भएको हो। शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले आक्रमणबाट गम्भिर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको थियो।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौं स्थित ट्रमा सेन्टर लगिएको छ। लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी जादै गरेका कुवँरमाथि तीन जनाले आक्रमण गरेका थिए।



गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै ढुङ्गामुडा प्रहार गरेको जनाईएको छ। आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिखर नगरपालिका ७ बोगटाका नविन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।








