डडेल्धुरामा नातीले हजुरआमाको हत्या,नाती रोशनराज गिरी पक्राउ


डडेल्धुरा, २९ जेठ : डडेल्धुराका एक नातीले आफ्नै हजुरआमाको हत्या गरेका छन्। जिल्लाको गन्यापधुरा –२ कुवरगाँउ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै ७३ वर्षीया राधादेवी गिरीको हत्या गरेका हुन। रोशनराजले धान कुट्ने काठ (मुसल)ले टाउकोमा हिर्काएर हजुरआमालाई घाइते बनाएका थिए।
घाइते भएकी बृद्ध गिरीलाई उपचारको लागि लैजाने क्रममा घटनास्थलबाट करिब ५० मिटरको दुरीमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनामा संलग्न मृतकका नाती रोशन राज गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउको जंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।



उनका अनुसार घरायसी विवाद हुँदा घटना घटेको हो। ‘प्रारम्भिक जानकारी अनुसार घरायसी विवाद हुँदा नातीले हजुरआमालाई हिर्काएको भन्ने खुलेको छ’ डिएसपी न्यौपानेले भने ‘अहिले आफ्न्तले किटान जाहेरी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ।’
घटनामा संलग्न व्यक्तिलाई हिरासतमा राखिएको र आवश्यक अनुसन्धान गरि कानुनी प्रक्रिया अगाढी बढाइएको प्रहरीले जनाएको छ।








