आर्थिक वर्षको पहिलो कारोबार ३२.४२ अंकले सुधार

काठमाडौं, १ साउनः चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन शेयर बजार ३२.४२ अंकले सुधार भएको छ। नेप्से सूचक २.३८ प्रतिशतले सुधार भएर १३९४.७७ अंकमा रोकिएको हो। कारोबार सुरु भएदेखि नै सुधार देखिएको थियो।

बजार सुधार हुने संकेत देखिएसँगै लगानीकर्ताको ध्यान सस्ता कम्पनीमा पर्न थालेको छ। सस्त लघुवित्त फाइनान्स म्युचुअल फण्ड तथा बैंकको शेयरमा अधिक आकर्षण देखिएसँगै ती कम्पनीको शेयर मूल्य पनि दिन दिनै बढ्न थालेको हो।

बिहीबार सम्पुर्ण सूचक तथा उपसूचक हरियो देखिँदा १११ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ३९ वटाको मूल्यमा गिरावट आएको छ। १४ वटाको मूल्यमा भने खासै परिवर्तन देखिएन। वाणिज्य बैंकको सूचक ४० अंकले सुधार भएको छ।

गएका दिनमा माइक्रोफाइनान्स र बीमा कम्पनीमा मात्रै उछाल देखिएकोमा बिहीबारदेखि वाणिज्य बैंकहरुको शेयर मूल्यमा पनि उल्लेख्य सुधार आएको हो।

बैंकहरुले नयाँ आर्थिक वर्ष सुरु भएसँगै शेयर कर्जा प्रवाह गर्न सक्नेछन्। कोभिड-१९ ले समग्र अर्थतन्त्र नै शिथिल बनाउँदा लगानीका ढोकाहरु बन्द छन्। नयाँ लगानी नहुँदा बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर पनि घटाउँदै आएका छन्।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सेयर कर्जाको सीमा बढाउन सुझाव आइरहेको छ। यस विषयमा गभर्नर पनि सकारात्मक देखिएको हुँदा बजार सुधार भइरहेको हो। यसका साथै अन्य क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ता काम नपाएर सेयर बजारमा लगानी गर्न खोजिरहेका छन्। यसले पनि बजार सुधारका लागि केही टेवा पुर्‍याउनेछ।

सम्बन्धित खवर

Back to top button