रातो मत्स्येन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे

काठमाण्डौँ, २१ भाद्रः रातो मत्स्येन्द्रनाथको रथ आइतबार दिउँसो तानिएको छ । रथ रहेको स्थान ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म तानिएको हो ।

परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए । रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याइ केही बेर तानेर टुङ्ग्याउने योजनाअनुसार आइतबार तानिएको महर्जनले बताए ।

उनले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय भइसकेको बताए । त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । रथ तान्ने कार्यक्रमका लागि चार सय ३४ जना सहभागी भएका थिए । जसमध्ये एक सय ६० जना रथ तान्नका लागि, एक सय २४ जना स्वयंसेवक, झण्डै ३० जना बाजागाजा बजाउने र ज्यापु समाजका पदाधिकारी थिए ।

प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो । यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजासमेत गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button