‘उपचार गर्ने पैसा छैन, मालिकले घर छाड् भने’

सदरमुकाम २२७७,२१ मंसिर : सदरमुकाम तानसेन बजार। नजिकै रहेको सिद्धार्थ राजमार्ग। त्यही राजमार्गमा सरकार र हुनेखानेको गाडी दिनहुँ हुइँकिन्छन्। ती गाडीले उडाएको धुलो घरमा पुग्छ। तर कोही मानिस पूर्णकुमारीको त्यहाँ पुग्दैनन्। जहाँ एक पुरुष विस्तरामा लडिरहेका छन्।

एउटी महिला उनको स्याहार गरिरहेको दृष्य छ। उनका ४ साना छोराछोरी छन्। तर साँझबिहान पेटभरि खानसमेत पाएका छैनन् उनको आफ्नै घर र जमिन पनि छैन। अर्काको जग्गामा सानो छाप्रो बनाएर बस्न थालेको २० वर्ष भयो। सामान्य मजदुरी गरेर आफूसहित ७ जनाको परिवार पाल्दै आएका उनका श्रीमान् पोमबहादुर अहिले विस्तारामा लडिरहेका छन्। २०७५ साल फागुन १२ गतेदेखि विभिन्न अस्पताल चहारेका उनी अहिले घरमै थला परेर बसेका छन्।

छिमेकीको घरमा दाउराका लागि रुखका हाँगा काट्ने क्रममा उनी लडेर घाइते भएका थिए। ५१ वर्षीय उनको ढाडको मेरूदण्ड भाँचिएको छ। उनको ढाडमुनिको भाग नै चल्दैन। अण्डकोष काटेर फालिएको छ। उनलाई उपचारका लागि काठमाडाैंस्थित ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उनको अप्रेसन भयो। लगत्तै फिजियोथेरापीका लागि काभ्रेको बनेपामा रिफर गरियो।

४ महिनाको उपचारपछि उनलाई घर फर्काइयो। सम्पत्तिको नाममा भएको कुखुरा र बाख्रा बेचेर उपचार गर्न लगिएको थियो। तर त्यति पैसाले के पुग्थ्यो? पछि चन्दा संकलन पनि गरियो।

पोमबहादुर पैसाकै अभावका कारण उपचार हुँदाहुँदै फर्काएर घर ल्याइएको थियो। घर आइपुगेपछि उनको घाउ झनै बल्झियो। थप उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगेर भर्ना गरियो। यहाँ उनलाई १० महिना राखेर उपचार गरिएको थियो। जहाँ उनलाई निको पार्न ११ पटकसम्म अपरेसन गरिएको थियो। उपचार खर्च भने अस्पतालअन्तर्गत रहेको समाजिक सेवा विभागले बेहोरेको ‍पत्नी पूर्णाकुमारीले बताइन्।

अहिलेसम्म १० लाख बढी खर्च भइसकेको उनी बताउँछिन्। घरको सम्पत्ति सकिएपछि चन्दा उठाएरै उपचार गरिएको छ। कुनै अस्पतालले नि:शुल्क उपचार गरेका छन् त कुनैमा चन्दाबाट उठेको पैसाले जसोतसो श्रीमानको उपचार गरे पनि छोराछोरीलाई भने छाक टार्न समस्या भइरहेको पूर्णाको दु:ख पोख्छिन्।

‘विस्तरामा मुढोजस्तै लडिरहेका छन्। गिलासको पानी पनि उठाएर खान सक्नुहुन्न’, उनले भनिन्, ‘दिसापिसाब पाइपबाट छ, एकछिन छोड्न मिल्दैन।’

दुई वर्ष भयो उनले श्रीमानको यसरी हेरचार गर्न थालेको। ‘यताउता मेलोपात हिँड्न पाएकी पनि छैन,’ उनले पीडा सुनाइन्।

बिरामीलाई राम्रो खाना र छोराछोरीलाई पेटभरि खानसमेत उनले पाएकी छैनन्। मिसन अस्पताल, तानसेन नगरपालिका, वडा कार्यालयले राहतस्वरुप चामल, दाल, नुन, साबुन दिएका थिए। तर अहिले राहतमा पाएको चामलसमेत सकिएको छ।

पूर्णकुमारीका ६ सन्तान छन्। दुई छोरीको सानैमा बिहे भइसक्यो। अब बाँकी दुई छोरा र दुई छोरी छन्। उनीहरूले विद्यालयमा पुगेर पढ्न पनि पाएका छैनन्। १७ वर्षीय छोरा बीचैमा पढाइ छाडेर मजदुरी गर्न हिँडेका छन्।

‘मालिकले घर छाड्न भने’

अर्काको जमिनमा छाप्रो बनाएर बस्दै आएका यो परिवारलाई जग्गाधनीले घर छाड्न भनिसके। ‘यही मंसिरभरमा यहाँबाट निस्केर जा भनेका छन्’, उनले बाध्यता सुनाइन्। ‘उहाँ(श्रीमान्) उठेर बस्न सक्नुहुन्न। बाहिर निकाल्दा चार जना चाहिन्छ’, गहभरि आँसु पार्दै भनिन्, ‘यस्तो अवस्थामामा कहाँ जाने?’

सम्बन्धित खवर

Back to top button