लोकसेवा आयोगद्धारा सोधिने प्रश्न र उत्तर लेख्ने तरीका

जैविक विविधता भनेको के हो ? जैविक विविधता संरक्षणका उपायहरू लेख्नुहोस् । २ं३. ५

पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता
जीवनत्व पाएका जीव तथा वनस्पतिको अनेकता र तिनीहरूको अन्तर्सम्बन्धको समष्टिगत स्वरूप नै जैविक विविधता हो । पृथ्वीमा मानिसलगायत विभिन्न पशुपक्षी, प्राणी तथा वनस्पतिहरू रहेका छन् र तिनीहरूबीचमा एक–आपसमा भिन्नता एवं विविधता रहेको छ । त्यसलाई समेत जैविक विविधता भनिन्छ ।
प्रतिएकाइ क्षेत्रफलमा रहेका, जीवाणु, वंशाणु, कीटपतंग, जीवजन्तु, प्राणी तथा वनस्पतिबीचको अन्तर्सम्बन्धलाई त्यस स्थानको जैविक विविधता भनिन्छ । यसको अवधारणा सन् १९८० को मध्यबाट विकसित भएको हो । पारस्परिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता गरी यो तीन प्रकारको हुन्छ । जैविक विविधताअन्तर्गत जीवहरूको
किसिम र तिनीहरूमा पाइने फरकपनलाई बुझिन्छ ।

जैविक विविधता संरक्षणका उपायहरू
– जैविक विविधता संरक्षणसम्बन्धी सुस्पष्ट नीतिको तर्जुमा र कार्यान्वयन गर्ने,
– यसको संरक्षणका लागि स्थानीय संघसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने,
– विकासका गतिविधि सञ्चालन गर्दा वातावरण र विकासबीच तादात्म्य कायम गर्ने,
– व्यवस्थित सहरीकरणमा जोड दिने,
– वनजंगलको उचित संरक्षण र सम्वद्र्धन गर्ने,
– वन सम्पदाको अनधिकृत प्रयोग र ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न बन्द गर्ने,
– रासायनिक मल तथा कीटनाषक विषादीको प्रयोगमा कमी ल्याउने,
– बढ्दै गएको वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने,
– बढ्दो जनसंख्या वृद्धि नियन्त्रण गर्ने,
– जैविक विविधता संरक्षणका लागि नागरिक चेतनाको विस्तार गर्ने,
– वृक्षारोपण तथा सामुदायिक वन विकासमा जोड दिने,
– धार्मिक एवं सांस्कृतिक परम्पराको उपयोग गर्ने (जस्तै स् वर, पीपल, तुलसी, बेल आदि रोप्ने र
जगेर्ना गर्ने)

अन्त्यमा,
माथि उल्लेखित उपायहरू अवलम्बन गरेर जैविक विविधताको संरक्षण गर्न सक्ने देखिन्छ । यसबाट वातावरण संरक्षण र प्राकृतिक सन्तुलन भई जीव र वनस्पतिको अन्तर्सम्बन्ध कायम रहिरहन्छ ।

सहरीकरणलाई व्यवस्थित गर्न के गर्नुपर्ला ? मौलिक सुझाब दिनुहोस् । ५

विकासको प्रतिबिम्ब सहरीकरण
साना बस्तीहरू विकास हुँदै क्रमशः ठूला सहरमा रूपान्तरण हुने प्रक्रिया नै सहरीकरण हो । विकासका पूर्वाधारहरूको यथेष्ट व्यवस्था भएको तथा घना आवादी भएको ठाउँलाई सहरीकरणका रूपमा वा सहरका रूपमा लिन सकिन्छ । जनसंख्याको तीव्रतर वृद्धिसँगै सहरीकरण विश्वव्यापी साझा समस्याको रूपमा देखा परेको छ ।

सहरीकरणलाई व्यवस्थित गर्ने उपायहरू
– व्यवस्थित सहरीकरणसम्बन्धी दीर्घकालीन नीति तर्जुमा र कार्यान्वयन गर्ने,
– तीव्रतर रूपमा भइरहेको जनसंख्या वृद्धि नियन्त्रण गर्ने,
– बसाइँसराइ प्रक्रियालाई व्यवस्थित गर्ने,
– ग्रामीण क्षेत्रमा साना सहरहरूको विकासमा जोड दिने,
– देशको सन्तुलित विकासमा ध्यान दिने,
– विकेन्द्रित शासन पद्धतिको सिद्धान्त अवलम्बन गर्ने,
– स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने,
– स्थानीय स्तरमा विकासका पूर्वाधारहरूको स्थापना गर्ने,
– सहरमा फोहोरमैलाको उचित व्यवस्थापन गर्ने,
– संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने,
– एकीकृत बस्ती विकासमा जोड दिने,
– बहुतलायुक्त आवासीय भवनहरू बनाउने,
– छुट्टै प्रशासनिक क्षेत्र तोक्ने,
– ढल, खानेपानी, यातायात, सडक विद्युत्जस्ता विकासका पूर्वाधारको यथोचित व्यवस्था गर्ने,
– सहरमा बस्ने मानिसहरूमा जनचेतना विस्तार गर्ने,

अन्त्यमा,
आधुनिक र स्मार्ट सहरमार्फत बढ्दो जनसंख्याको उचित व्यवस्थापन र आर्थिक गतिविधिहरूलाई गति दिन सकिन्छ । नेपालमा संघीयताको पूर्ण तथा कार्यान्वयन भइसकेपछि विकेन्द्रित शासन पद्धतिले सार्थकता पाउने र सोहीबमोजिम हालको सहरीकरणको समस्या पनि समाधान हुँदै जाने निश्चित छ ।

साभारः नयाँ पत्रिका

सम्बन्धित खवर

Back to top button