काठमाडाैं । मानव अधिकारको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएकी तेजश्री थापाको निधन भएको छ ।
मानवअधिकार संरक्षण अभियन्ताका रूपमा कम उमेरमै अन्तर्राष्ट्रिय ख्याति कमाएकी तेजश्रीको ५२ वर्षको उमेरमा न्यूयोर्कमा मंगलबार निधन भएको हो ।
पूर्व परराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेषबहादुर थापा र पूर्व राष्ट्रसंघीय कर्मचारी रीता थापाकी छोरी तेजश्री ५२ वर्षकी थिइन् । उनको निधन आकस्मिक भएको बताइएको छ ।
दसवर्षे सशस्त्र माओवादी द्वन्द्व क्रममा १७ हजारभन्दा बढीको ज्यान गयो । हजारौं घाइते भए । कयौं बलात्कृत ।
सरकारी सुरक्षाकर्मी र माओवादी लडाकू दुवै पक्षबाट भएका हत्याहिंसा र मानवअधिकार उल्लंघनका घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै दस्तावेजमा दर्ज छन् ।
तिनैमध्ये अमेरिकाको न्यूयोर्कस्थित मानवअधिकार संगठन ‘ह्यूमन राइट्स वाच’ (एचआरडब्लू) ले यससम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज तयार पारेको थियो ।
गौतम बुद्ध र सगरमाथाको देशका रूपमा संसारभरि चिनिने नेपालमा कम्युनिस्ट क्रान्तिका नाममा भइरहेको हत्याहिंसा र बलात्कारका श्रृंखलाबारे पहिलोपटक सघन रूपमा अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउने उक्त दस्तावेजको श्रेय तेजश्री थापालाई जान्छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार अभियन्ता तथा अधिवक्ता थापा नेतृत्वको समूहले घटनास्थल भ्रमण र पीडित पक्षसँगको कुराकानीबाट गरेको वृहत अनुसन्धानकै आधारमा ह्यूमन राइट्स वाचले उक्त प्रतिवेदन तयार पारेको थियो ।
उनकी बहिनी मञ्जुश्री थापा लोकप्रिय लेखक हुन् भने छोरी माया यसै वर्ष अक्सफोर्ड विश्वविद्यालय पढ्न जाँदैछिन् । उनका भाइ इञ्जिनियर भाष्कर थापाको २०७० असारमा निधन भएको थियो ।
तेजश्रीले माओवादी द्वन्द्व क्रममा भएका यौनहिंसा र शोषणमाथि पनि अनुसन्धान गरेकी छन् । साना बालिकाहरूमाथिको हिंसामा उनको सहानुभूति थियो ।
ह्यूमन राइट्स वाचका अनुसार उनले माओवादी लडाकूहरूले भर्ती गरेकी एक किशोरीलाई सैनिक हिरासतमा भेटेकी थिइन् ।
ती किशोरी दोहोरो भिडन्तमा परेर घाइते थिइन् । सैनिक हिरासतमा उनीमाथि थप दुर्व्यहार भइरहेका थिए ।
यी सब देखेर तेजश्रीले आफूलाई सम्हाल्न सकिनन् ।
सरकारी सुरक्षाफौजले हिरासतमा रहेको बन्दीलाई न्यायिक प्रक्रियामा लैजानुको साटो दुर्व्यवहार गरेको देखेपछि तेजश्रीले यसविरुद्ध आवाज उठाइन् ।
सरकारी स्तरमा र कूटनीतिक रूपले समेत घटना उजागर गरेपछि बल्ल ती किशोरीमाथिको दुर्व्यवहार रोकिएको ह्यूमन राइट्स वाचले जनाएको छ ।
तेजश्रीको मानवअधिकार संरक्षण अभियान नेपालमा मात्र सीमित थिएन । उनले बाल्कन, बंगलादेश र श्रीलंकाको द्वन्द्वमा पनि काम गरेकी थिइन् ।
सन् १९६६ मा काठमाडौंमा जन्मेकी तेजश्रीलाई उनका परिवार र साथीभाइहरू ‘तेज’ भनेर बोलाउँथे । वेल्सली कलेज र कोर्नेल ल स्कुलमा पढेकी तेजश्री सन् २००४ मा ह्यूमन राइट्स वाचमा आबद्ध भएकी हुन् । उनी त्यहाँ दक्षिण एसियाका लागि वरिष्ठ अनुसन्धानकर्ता थिइन् ।
मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीति, द्वन्द्वपछिको न्याय र पुनर्स्थापना लगायतमा उनको विशेषज्ञता थियो ।
मानवअधिकार संरक्षण क्षेत्रमा उनको करिअरको सुरुआत महिला हिंसाविरुद्ध राष्ट्रसंघीय विशेष प्रतिनिधिका रूपमा भयो । यही क्रममा उनले राष्ट्रसंघीय मानवअधिकार आयोगका लागि श्रीलंकाको गृहयुद्धमा भएका लैंगिक हिंसामाथि अनुसन्धान गरेर प्रतिवेदन तयार पारिन् ।
त्यसपछि तत्कालीन युगोस्लाभियाका लागि गठित अन्तर्राष्ट्रिय अपराध ट्राइब्यूनलमा काम गरिन् । हेगस्थित उक्त ट्राइब्यूनलमा झन्डै दस वर्ष काम गर्दा उनले यौनहिंसामाथि अनुसन्धान गरेकी थिइन् ।
त्यहाँबाट उनी ह्यूमन राइट्स वाचमा आबद्ध भएकी हुन् ।
ह्यूमन राइट्स वाचको अनुसन्धानकर्ताका रूपमा तेजश्रीले मानवअधिकार उल्लंघन घटनाका पीडित पक्ष र घटनामा संलग्न व्यक्ति दुवैसँग अन्तर्वार्ता गर्थिन् ।
नेपाल र श्रीलंकाको द्वन्द्वमा भएका मानवअधिकार उल्लंघन छानबिन क्रममा उनले दुर्गम ठाउँहरूमा समेत पुगेर दुवै पक्षको अन्तर्वार्ता गरेकी थिइन्। यी दुवै देशमा भएका यौनहिंसा, यातना र बर्बरताबारे उनले दस्तावेज तयार पारेको ह्यूमन राइट्स वाचले जनाएको छ ।
श्रीलंकामा गृहयुद्ध जारी रहँदा उनले सरकारी पक्षको जवाफदेहीता र पीडित पक्षको संक्रमणकालीन न्यायका लागि थुप्रै चिठीपत्र आदानप्रदान गरेकी थिइन् । ‘त्यतिबेला चिठीपत्र र दस्तावेज लेख्दालेख्दा उनी यतिसम्म एकोहोरिएकी थिइन्, सपनामा पनि तिनै कुरा बर्बराइरहेकी हुन्थिन्,’ तेजश्रीको सम्झनामा ह्यूमन राइट्स वाचले लेखेको छ ।
सन् २०१७ अगस्टमा तेजश्रीले म्यानमारबाट खेदिएका वा भाग्न बाध्य पारिएका रोहिंगा मुस्लिम समुदायमाथि अनुसन्धान गरेकी थिइन् । त्यतिबेला म्यानमारको सैनिक शासकबाट भएको अत्याचार सहन नसकेर रोहिंगा मुसलमानहरू बंगलादेश छिर्ने क्रम ह्वात्तै बढेको थियो ।
हजारौं हजार रोहिंगा मुसलमानहरू बंगलादेश र म्यानमारको सीमाक्षेत्रमा शरणार्थी जीवन बिताउन थालेका थिए। अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीका रूपमा उक्त शरणार्थी शिविर पुग्नेमा तेजश्री पहिलो समूहकी अभियन्ता थिइन् ।
म्यानमारको सैनिक शासनले ’जातीय सफाया’ का रूपमा रोहिंगा मुसलमानमाथि गरेको हत्याहिंसा, अत्याचार र बलात्कारका घटनामाथि अनुसन्धान गरेर उनले प्रतिवेदन तयार पारिन् ।
यस्ता थुप्रै घटनामा सत्ताबाट आमजनतामाथि भएको अत्याचारविरुद्ध उनले प्रखर आवाज उठाएकी थिइन् । आफ्नो कामका लागि जुनसुकै समय जहाँ जान पनि तत्पर रहन्थिन् । जोखिम वा खतरामा रहेका व्यक्तिलाई सहयोग गर्न हर समय तयार हुन्थिन्। जसलाई भेट्न पनि निर्धक्क जान्थिन् ।
उनले मानवअधिकार तथा राजनीतिक कार्यकर्ता, पत्रकार र द्वन्द्वबाट पीडित परिवारका सदस्यहरूसँग घन्टौं घन्टा समय बिताएकी थिइन् ।
तेजश्रीको निम्ति मानवअधिकार संरक्षणको काम व्यावसायिक मात्र थिएन, त्योभन्दा बढी उनको व्यक्तिगत रनाहा थियो । उनी आफूले भेटेका व्यक्तिको ख्याल राख्थ्न् िर उनीहरूको पीडा हटाउन परामर्श दिन्थिन् ।
यिनै विशेषताले तेजश्रीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संरक्षणमा एक तेजस्वी अभियन्ताका रूपमा स्थापित गराएको छ ।