काठमाडौं १३ बैशाख । लोकसेवा तयारी गरेर बसेका तर विज्ञापन नै नखुलेर निराश भएका युवा/युवतीहरूका लागि खुसीको खबर आएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएसँगै लोकसेवा आयोगले आफ्नो भर्ना प्रक्रियालाई सुचारु गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगलाई फास्ट ट्रयाकबाट भर्ना प्रक्रिया थाल्न आग्रह गरिएको जानकारी दिए । मन्त्री पण्डित र लोकसेवाका सचिब महेन्द्र गुरागाई बीच बैशाख भित्रै बिज्ञापन गर्ने बिषयमा छलफल भएको बताइएको छ । २० हजार कर्मचारीका लागी किस्ता किस्तामा बिज्ञापन हुने लोकसेवा आयोगले जनाएको छ ।
मन्त्री पण्डितले लोकसेवाले छिट्टै विभिन्न पदमा भर्ना प्रक्रिया थाल्ने भएकाले ढुक्क भएर लोकसेवाको परीक्षा तयारी गर्न सम्वन्धित सबै पक्षमा आग्रह समेत गरेका छन् । कर्मचारी समायोजनका कारण गत कात्तिकदेखि सुरु हुनुपर्ने लोकसेवाका विभिन्न परीक्षा अवरुद्ध हुँदै आएका छन् । मन्त्री पण्डितले समायोजन प्रक्रिया सम्पन्न भइसकेकाले लोकसेवाको भर्ना प्रक्रिया सुरु हु्ने स्पष्ट पारेका हुन् ।
लोकसेवा आयोगका सचिव गुरागाईं भन्छन् ‘तयारी अवस्थामा छौं, माग आउनासाथ भर्ना खुलाउँछौं । हामी त मंसिरदेखि नै तयारी अवस्थामा छौं, सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग आउनासाथ आयोगले भर्ना प्रक्रिया सुचारु गर्छ । सम्भवतः बैशाखको अन्तिम सातादेखि नै माग थालिनेछ । विभिन्न कारणले अवरुद्ध भएका लोकसेवाका परीक्षा अब सुचारु हुने अवस्था देखिएको छ, तयारी थाल्दा हुन्छ ।’