काठमाडौंको खुलामञ्च अतिक्रमणमा उपप्रमुखकै संलग्नताः महानगर प्रमुख
काठमाडौं १४ बैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीको खुलामञ्च अतिक्रमण गरी सटर तथा स्टल बनाइनुमा उपप्रमुख हरीप्रभा खड्गीको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । सटर तथा स्टल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका स्थानीय र काठमाडौं ६ का सांसद भीमसेनदास प्रधानसँग महानगर प्रमुखले यस्तो आशंका गरेका हुन् ।
उपप्रमुख खड्गीले रहस्यमय तरिकाले नगरसभाको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए । ‘‘मैले चैत २४ मा जानकारी पाएँ । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरेर प्रतिवेदन दिन उपप्रमुखलाई भनेको थिएँ । तर, उहाँले टेर्नुभएन । नगरसभाले दिएको जिम्मेवारी पूरा गर्नुभएन । महानगर प्रमुखका रूपमा मैले दिएको निर्देशन पनि मान्नुभएन,’ उनले भने, ‘खुलामञ्च अतिक्रमण प्रकरणमा कतै उहाँ योजनाबद्ध र नियोजितरूपमा काम गरिरहेको त छैन भन्ने आशंका लाग्न थालेको छ ।’
ज्ञापनपत्र बुझाउन गएकाहरूले महानगर प्रमुखलाई वैशाख मसान्तसम्ममा अवैधानिक सटर तथा स्टल भत्काउन र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । जवाफमा उनले अवैधानिक रूपमा बनेका सटर तत्काल हटाइने तथा खुलामञ्च अतिक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । महानगरपालिकासँगको सम्झौताविपरीत ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाएर भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएबापत उसले प्रतिसटर १५ हजार रूपैयाँसम्म सलामी उठाउने गरेको छ ।