एकहप्ताभित्रै ठूलो संख्यामा लोकसेवाको विज्ञापन खुल्ने
काठमाडौं । प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्नाको आवश्यकत्ता गर्ने भएकोले आउने हप्ताभित्र स्थानीय र प्रदेश तहको लागि कमर्चारी आवश्यकत्ताको लागि विज्ञापन गरिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक कार्यक्रममा बोल्दै स्पष्ट पारेका छन् । आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको जनाउँदै उनले भने,‘अब ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिनेछ ।’
स्थानीय तहको सवालमा पनि यो वर्षको असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने उनले दाबी गरे । उनले भने,‘आउने आर्थिक वर्षदेखि अब कर्मचारीको अभाव हुनेछैन । अब सेवाग्राहीले कुनै गुनासो पोख्न ठाउँ हुने छैन् ।’ मन्त्री पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाएका छन् ।
उनले भने,‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भैरहेको छ । एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं । बढिमा यो महिनाभित्रै काम सकिन्छ भन्नेमा म विश्वस्त छु ।’ कार्यक्रममा बोल्दै मन्त्री पण्डितले मुलुक यतिवेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको सुनाए । उनले भने,‘एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अरुभन्दा तिव्र गतिमा काम अघि बढाउनेमा पर्दछ ।’ संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको भनाई छ । उनले भने,‘हामीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि लिएर प्रशासनिक संरचनाहरु तयार गरिसक्यौं । कर्मचारी समायोजनमा केही समस्या देखिएपनि त्योपनि हामीले कुशलतापूर्वक सम्पन्न गर्दैछौं ।’
समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको पनि उनले सुनाए । उनले भने,‘हामीले कर्मचारीका जायज गुनासाहरु सम्बोधन गरेका छौं । कतिपयको अझै सम्बोधन गर्नुपर्नेछ । त्यसतर्फ हामी गम्भिर छौं ।’ समायोजनको हकमा महिला तथा गम्भिर विरामी लागेका कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिईएको उनले स्पष्ट पारे । फरक क्षमता भएका लगायतका अन्य कर्मचारीहरुको पनि आफूहरुले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले विश्वास दिलाए । वर्तमान सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा साकार हुने दिशातर्फ मुलुक अघि बढिरहेको पनि उनले स्पष्ट पारे ।