घुससहित समातिए इन्जिनियरः रंगेहात १४ लाख, पलङमुनि भेटियो २ करोड ५० लाख
एजेन्सी,२६ जेष्ठ : १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस लिँदे गर्दा गिरफ्तार गर्यो । त्यसपछि यो टोलीले इन्जिनियर सुरेश प्रसाद सिंहको घरमा छापा मार्यो। यस क्रममा यो टोलीले इन्जिनियरको पलङ र सुटकेसबाट करिब २ करोड ५० लाख रूपैयाँ बरामद गरेको छ।
भिजिलेन्स विभागका अनुसार नोट यति धेरै थिए कि गन्नका लागि मेसिन नै ल्याउनुपर्यो। भिजिलेन्स टोलीले इन्जिनियरको घरबाट सुनचाँदी र जग्गाको कागजात पनि बरामद गरेको छ । यसको पनि चाँच भइरहेको छ। भिजिलेन्सका डीएसपी गोपाल पासवानका अनुसार निर्माण व्यवसायी अखिलेश कुमार जायसवालको कम्पनी सडक निर्माणको क्षेत्रमा काम गर्दै आएको छ।
बिहटा र बिक्रम नगरबीच बनिरहेको सडकको ठेक्काका लागि इन्जिनियर र एकाउन्टेन्ले अखिलेशसँग ३२ लाख रूपैयाँ घुस मागेका थिए । तर बार्गेनिङका क्रममा २८ लाखमा कुरा मिल्यो । शनिवार १४ लाख रुपैयाँ अग्रिम भुक्तानीका रूपमा ठेकेदारले दिए । पैसा इन्जिनियरको घरमा लगियो। त्यस समय एकाउन्टेन्ट शशि भूषण पनि थिए । भिजिलेन्सको टिम पहिलेबाटै तयार थियो । इन्जिनियरले जसै पैसा लिए यो टिमले उनलाई हिरासतमा लियो ।