एक साहसिक महिलाः जाे १७ वर्षकै उमेरदेखि लगातार डोजर चलाउँदै आइन्- भिडियो


काठमाडाैं : मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्। पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। ‘छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।’
रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, ‘मेसिन सिक्छौ ?’ उनले जवाफ फर्काइन्, ‘सर, पाए त सिक्थेँ नि।’ आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। ‘समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,’ उनले भनिन्, ‘मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।’उनले आँटिन् र मेहनत गरिन्। ‘म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,’



उनले भनिन्, ‘काम गर्दै जाँदा रस बस्दै गयो।’ कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्। त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। हाल उनी हेभी इक्विप मेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। ‘छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।’ उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्। नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्।
हेर्नुस् भिडियो