न त सरकारले भन्यो, न त प्यासले भन्यो ‘जोखिम नमोल नानी’
जाजरकोट : जिल्लाको दुर्गम गाउँमा बालबालिका मैत्री धारा नहुँदा धारामै झुण्डिएर पानी पिइरहेका हुन्छन् बालबालिका । बिकासले अलिअली गति लिनेक्रम जारी रहेपनि बनेका संरचनाले सबै कुरालाई समेटेको हुँदैनन् भन्ने प्रमाण यहीँ एक तस्बीर पनि हो ।
यहाँ अशिक्षा, गरिबी र बेरोजगारी सँगसँगै जनचेतना र सचेतनाको समेत खडेरी परेको पाइन्छ । मुलुकमा संघीयता आएर गाउँ-गाउँमा सिंहदरबार भित्रिदा दुर्गमका बस्ती भने मानव जीवनका लागि अपरिहार्य रहेका चीज शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्यासँग जुधिरहेको अझैसम्म भान हुन्छ ।
यो तस्बीरमा जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय नजिकै रहेको धारामा एक बालिकाले सकसपूर्ण तरिकाले धाराको पानी पिउने प्रयास गर्दैछिन् ।
चार्ल्स डार्बिनको सिद्धान्त(बाँच्नको लागि संघर्ष)को झल्को आउने गरि उनले पानी पिइरहेकी थिइन । एकदमै कठिन र जोखिमपूर्ण तरिकाले पानी पिउने कोसिसमा थिइन उनी । त्यतिबेलै डिजिटल सन्चारका सम्पादक दीपबहादुर घर्तीले यो तस्बीर लिएका हुन् ।