यस्ताे रहेछः पारस–हिमानी डिभोर्स काण्ड
काठमाडाैं : नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– अन्त्य नै भएको अनुमान लगाइएकाे थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन । पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका सधैको लगि बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन । यतिमात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्नेगरी कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन् । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका पछि पारसलाई भेट्न नेपाल पनि आइन् । सतिशविक्रम शाहकी छोरी स्तूती शाहको विवाह पार्टीमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन् ।
पारस लागुऔषध प्रयोग गरेको अभियोगमा थाइल्यान्ड जेलमा परेका थिए । उनलाई छुटाउनका लागि हिमानी आफैं त्यहाँ पुगेकी थिइन् । यसपछि उनीहरूबीचको सम्बन्धमा केही सुधार आएको अनुमान गरिएको थियो । यो सम्बन्ध अझ नजिक भएको ठहरचाहिँ कन्निकासँग पारसको अफेयर टुटेपछि गरियो । अहिले पारस–कन्निकाको कुनै सम्बन्ध छैन, बरु हिमानीसँग नजिक भएको छ । पारसबाहेक पूर्वराजपरिवारको राजधानी बाहिरको भ्रमणका क्रममा छोराछोरी भेट्नका लागि पारस निर्मलनिवास छिर्न थालेपछि अझ सम्बन्ध बलियो हुन थालेको थियाे । यसपछि पारिवारिक भोज, रात्री भोजमा पारस परिवारसँगै देखिन थाले । अझ, पारस–हिमानीको सम्बन्धको निकटता छोरा हृदयेन्द्रको ब्रतबन्धदेखि भएको निर्मलनिवास उच्च स्रोतले जनायो ।
यसपछि यो दम्पत्तीमा सम्बन्ध सुधारका अनेक उदाहरण देखा परे पनि हिमानीलाई माताले तत्काल पारसनजिक नहुनु भन्ने सुझाव दिएको खबर बाहिर आए । निर्मलनिवास स्रोतले भन्यो,‘धार्मिक विषयमा अधिक विश्वास गर्ने भएका कारण पारस–हिमानीको भौतिक दाम्पत्य जीवनचाहिँ नजिक हुन सकेको छैन, सम्बन्धचाहिँ अलिक नजिक भएको हो । सन्तानका कारण पनि सम्बन्धमा सुधार हुन थालेको हो ।’ सामाजिक सञ्जालमा यसै विषयलाई लिएर पारस–हिमानी डिभाेर्स हुने अन्तिम तयारी भैरहेकाे भनिरहेकाे पाइन्छ ।