बाआमाको सपना टिपरले खोसेपछि…
काठमाडौं : भर्खरै यसपालीको ईपीएस परीक्षा पास गरेका थिए सोलुखुम्बुका फ्रेमकुमारले । कोरिया जाने अनेक सपना देखिरहेका थिए । उनको मात्रै सपना थिएन कोरिया । प्राण प्यारा बाआमाका समेत सपना थिए उनी । असार १३ गते राती नै आफुले यसपालीको ईपीएस परीक्षा पास गरेको थाहा पाए र परिवार साथीभाईबाट बधाई लिए।
राईले कोरिया गएर धन कमाउने परिवारलाई खुशी राख्ने र भविष्यको करियर बनाउने अनेक रंगिन सपना देखे तर त्यो सपना दुई दिन पनि कायम रहन सकेन । उनको सपनामात्र होइन उनको भौतिक शरीर समेत सधैंको लागि माटोमा मिल्यो ।
नेपाली सडकमा टिप्परलाई यमराज भन्ने गरिन्छ | त्यहि यमराजले राईको रंगिन सपना र देशको लागि चाहिने भर्बराउँदो युवाको जोसलाई माटोमा मिलायो । परिवारका अनुसार राईलाई गत असार १५ गते राती भक्तपुर राधे राधेमा टिप्पर नामक यमराजले किच्यो । उनको घटनास्थल मै मृत्यु भयो ।
उसुहान कोरियन ल्वान्ग्वेज इन्स्टिच्युटमा कोरियन भाषा पढेर पास गरेका राईको मृत्युले परिवार,आफन्तलाई मर्माहित त बनाएको छ । उनलाई पढाउने शिक्षक भरत पाठक समेत मर्माहित भएका छन् ।