मुगु : जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-९ चिमाथ गाउँको माथि पाटन लेखमा चट्याङ लागेर ८५ वटा भेडा र बाख्रा मरेका छन्। बिहीबार अपरान्ह ४ बजे पाटनमा भेडा ,बाख्रा चराउँदै गरेको अवस्थामा एक्कासी हावा हुरीसँगै पानी परेको र त्यसलगतै चट्याङ परेर ८५ वटा भेडा र बाख्रा मरेका हुन्।
चट्याङ लागेर कृष्णबहादुर बुढाका १५ , हरिलाल बढुवालका १२ जय सावतका १०, बिर्खबहादुर बढुवालका ४, कालीबहादुर नेपालीका ४, लगायत १० जना स्थानीय किसानका ८५ वटा भेडा र बाख्राका मरेका सोही गाउँका स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए। चिमाथ गाउँबाट ५ घण्टाको पैदल यात्रापछि पुगिने बिसे दह पाटनमा स्थानीयले एक महिना अगाडि भेडा र बाख्रा सारेका थिए।
उक्त घटनामा करिब १० लाख मूल्य बराबर क्षति भएको अनुमान गरिएको आनन्द आधरभूत विद्यालय चिमाथका प्रधानध्यापक बिर्खबहादुर बढुवालले बताए। घटनास्थलतर्फ प्रहरी चौकी पुलुबाट खटिएको प्रहरीको टोली पुगि सकेर क्षति विवरण संकलन सुरु गरेको जनाइएको छ।