भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपाली पुरिए, खबर सुनेर बाआमा बेहाेस

काठमाडौं : भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृ*त्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृ*त्यु भएको हो। घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृ*तक खड्काका छोरा भने धनगढीमा छन्।

बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृ*त्यु भएको खड्काका भाइ कमलले बताए।

मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृ*तकका परिवारले बताएका छन्। तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। कमलका अनुसार खड्काका बाबुआमा घटनाबारे थाहा पाएलगत्तै अचेत छन्। उनीहरू पनि रोजगारीका क्रममा बैंगलोरमै थिए। मृ*तकका बाबुआमा पनि भत्किएको भवननजिकै अर्को भवनमा काम गर्थे।

रोजगारीका क्रममा बैंगलोरमै रहेका मृ*तकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को चारतले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिए। काका रामबहादुरले आफूहरूको पूरै परिवार रोजगारीका लागि बैंगलोरमै रहेकाले मृ*तकको अन्तिम संस्कार उतै गर्ने बताए। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।

सम्बन्धित खवर

Back to top button