हेर्नुस् बाढी पींडितकाे दर्दनाक कथाः तस्वीर आफै बाेल्छ


काठमाडौं : शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर बाहिर निस्किइन् । आकाशबाट मुसलधारा बर्सिरहेको थियो ।
‘एक्कासि खाटै डुब्ने गरी पानी आएपछि हाम्रो त होसै उड्यो,’ उनले भनिन्, ‘घरमा पोहोर सालकै पाल भएका कारण जसोतसो टाँगेर वर्षा र बाढीबाट जोगियौं ।’ सप्तरी, हनुमाननगर–कंकालिनी नगरपालिका–७ मा कोसीको पश्चिमी तटबन्धछेउमै छ सदाको घर ।



कोसीमा पानी बढ्ने र जुनसुकै बेला बाढी आउन सक्ने जोखिमका कारण राति १२ बजेसम्म उक्त बस्तीका सबै जाग्रामै थिए । ‘बिहानपख आँखा लाग्यो, त्यत्तिकैमा बाढी घरै छोप्ने गरी आयो,’ बिजलीदेवीले भनिन्, ‘केहीबेर आँखा नखुलेको भए कोसीको भेलसँगै पूरै परिवार बग्ने रहेछ ।’
रातिमा बाढी आएका कारण घरका केहीबाहेक धेरै सामान जोगाउन नसकेको उनले बताइन् । बिजलीदेवी मात्र होइन, सोही गाउँकी कुमरी सदा र फुलोदेवी सदाको पनि कथाव्यथा उस्तै छ । उनी पनि शनिबार बिहान बाढीले घर डुबाउन लाग्दा मस्त निद्रामा थिइन् । बिहानीपख घरआँगनमा पानी भरिएपछि भागेर पश्चिमी तटबन्धमा आएर ज्यान जोगाएको उनको भनाइ छ ।
कोसीको धार पूर्वबाट पश्चिम मोडिएकै कारण अहिले हनुमाननगर–कंकालिनी नगरपालिकाको वडा नम्बर ७ र १२ का करिब ३ सय परिवार विस्थापनमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
अविरल वर्षापछि पहिराे खस्दा थुनियाे नदी
काभ्रे : अविरल वर्षाका कारण काभ्रेकाे पनौती नगरपालिकाको रोशी जोरघट्ट-२ मा पहिरो खसेपछि रोशी नदी थुनिएको छ। मापदण्डविपरीत खुलेका ढुङ्गाखानीका कारण पहिरो गएपछि नदी थुनिएको स्थानीयले बताएका छन्। पहिरोका कारण नदी छेउमा रहेका वस्तीमा ढुङ्गासहितको भल पसेर वस्ती र सडक अवरुद्ध भएको छ।
डाइमन्ड र कृष्टल ढुङ्गाखानी उद्योगले जथाभावी स्काभेटर प्रयोग गरेर पहाड खनेका कारण डाँडै खसेर नदी थुनिएको स्थानीयले जानकारी दिए।स्थानीय विश्व थापाको घर अगाडि ठूलाठूला चट्टानसहितको पहिरो गएको छ। पहिरोका कारण स्थानीय सशंकित बनेको बताइएको छ।सो स्थानमा मात्र ८ वटा ढुङ्गाखानी र दुई वटा क्रसर उद्योग सञ्चालनमा छन्।