जनकपुरधाम : शिव पार्वतिकाे विशेष पुजाआरधना गरी मनाइने मिथिलाकाे मधुमास पर्वले वैवाहिक जीवनलाई सफल बनाबउने विश्वास रहेकाे छ । मिथिलाको सामाजिक सांस्कृतिक परम्परामा आधारित मधुश्रावणी पर्व विधिवतरुपमा मिथिलाञ्चलमा सुरु भएको छ। मिथिलामा यस पर्वको सुरुवातसँगै मधुमास सुरु भएको मानिन्छ।
सोमबार पञ्चमी तिथीमा नाग नागिन, शिवपार्वतीको विशेष पूजा गरी नवविवाहित जोडीले मधुमास सुरु गरेका छन्। १३ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नवविवाहित महिलाले श्रीमानको घरबाट पठाइएको साडी, चोलो, चुरा र गरगहना लगाएर शिव, पार्वती तथा नाग नागिनको पूजा गर्ने गर्छिन्।
पर्व अवधि भरी प्रत्येक साँझ नवविवाहित महिला समूह बनाएर साजश्रृंगार गरी बगैंचामा फुललोढी (फुलटिप्ने) गर्न जाने गर्छन्। समूहमा सजिएर निस्कने महिलाको झुण्डले मधुमास सुरु भएको सबैले थाहा पाउँछन्। साँझ टिपिएका फूलहरु अर्को दिनको पूजामा चढाउने गरिन्छ।
फूललोढीको आकर्षण यसमा गाइने गीतले अझ बढाउने गर्दछ। फुललोढीका बेला गाइने गीतहरु नव दम्पत्तीको सुख, सम्वृद्धि र उनीहरुको सुखी जीवनको आर्शिवाद हुन्छ। साउन महिना वर्षायामको महिना भएको हुनाले यसमा सर्प र जलचरको प्रकोप बढ्दछ। त्यसैले प्रकृतीको पूजा गर्ने उद्देश्यले यो पर्व मनाउने परम्परा रहिआएको छ।
पहिलाको समयमा विवाहपछि नवविवाहित जोडिलाई सँगै बस्न र सुमधुर सम्बन्ध बनाई वैवाहिक जीवनलाई अघि बढाउनका लागि यो पर्वको माध्यमले विशेष अवसर दिइने गरिएको कवि काशिकान्त झा बताउँछन्।’अहिले त विहेभन्दा पहिला पनि केटाकेटीले एक अर्कासँग भेट्न पाउँछन्। कुरा गर्न पाउँछन्।
तर, हाम्रो बेलामा यस्तो थिएन, ‘उनी भन्छन्, ‘यो पर्वले नवविवाहित जोडिलाई एकअर्काको बारेमा बुझ्न र रमाइलोका साथ दाम्पत्य जीवनलाई सफल बनाउन उत्साह प्रदान गर्छ ।’
यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, सोनार तथा देव जातिमा मनाइने गरिन्छ। पर्वको प्रत्येक दिन विशेष पूजा पाठ गरि महिलाले शिव पार्वतीको कथा सुन्ने गर्छन्। साँझको बेला श्रृंगार गरेर सामूहिक रुपमा फुल टिप्न जाने गर्छन्। प्रतिदिन पूजाको क्रममा नवविवाहित जोडिलाई सुनाइने कथामा प्रेम, दाम्पत्य जीवनको महत्व र यसमा एकअर्काको भूमिका र सहकार्यका बारेमा उदाहरण दिने गरिन्छ।
प्रकृतिले पनि साउन महिनालाई मनोरम बनाएको र यसबेला मधुश्रावणी पर्व हुँदा अझ बढी मनोरम हुने गर्दछ। यस पर्वको अवधिभर नवविवाहित महिलाले ससुरालीबाट पठाइएको अन्न मात्रै खाने परम्परा रहि आएको छ। अन्नपूर्णपाेष्टबाट ।