लोकसेवा विज्ञापनः थप ६ हजार कर्मचारीका लागि साउनभित्रै आवेदन खुल्ने
काठमाडाैं : गत १५ जेठमा खोलेको विज्ञापन उपर लफडा झेलिरहेको लोकसेवा आयोगले फेरि थप कर्मचारी माग्ने भएको छ । जेठ १७ गते लोकसेवा आयोगले देशैभरका ५५५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो ।
उक्त विज्ञापन समावेशी नभएको भन्दै संसदीय समिति,अदालत हुँदै सडक तात्यो । यो प्रकरणमा अझैं पनि जनजातीहरुको सडक संघर्ष जारी छ । यस्तैमा आयोगले पुन ६ हजारभन्दा बढी कर्मचारी माग गर्दै नयाँ विज्ञापन गर्ने जनाएको छ । आयोगले ६ हजार फ्रेस कर्मचारीका लागि नयाँ भर्ना खोल्न लागेको हो ।
स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ । जेठमा गरिएको बिज्ञापनको अहिले परीक्षा भइररहेको छ । अहिले बिज्ञापनबाट आएका ९ हजार कर्मचारीलाई दशैँअगावै स्थानीय तहमा पठाउने तयारीमा सरकार लागेको छ ।
अबको तीन साताभित्र ६ हजार कर्मचारीका लागि फेरी बिज्ञापन गर्ने तयारी थालिएको छ । कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।