यी पाँच कुरा अनुसरण गरेमा अवश्य स्वस्थ्य रहन सकिन्छ

काठमाडाैं : जब हामी स्वास्थ्य रहनेबारेमा कुरा गर्छाैँ, सर्वप्रथम हाम्रो खाना प्रमुख विषय हुने गर्छ । किनकी भनिन्छ हामी जे खान्छौँ, त्यही बन्छौँ । अर्थात् हामीले दैनिक खाने खानाले हाम्रो जीवनको सम्पूर्ण अवस्थाको प्रतिनिधित्व गर्दछ । यद्यपि केवल एउटै परिधिमा मात्रै स्वस्थ जीवन अडिएको भने हुँदैन । किनकी हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने वातावरणीय तत्व, वंशाणुगत तत्व तथा आचरण र मानसिक अवस्थाका भागहरुले पनि उतिकै भूमिका निर्वाह गर्दछन् ।

हेल्थ टुडेमा प्रकाशित पोषण विशेषज्ञ तथा वैज्ञानिकहरुका अनुसार केही आधारभूत नियमहरुलाई यदि हामीले बानीको रुपमा विकास गर्न सक्छौँ भने हाम्रो स्वस्थ जीवन बाँच्ने सपना धेरै हदसम्म पूरा हुन सक्छ । हामी सबैलाई थाहा भएकै कुरा हो कि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु श्रेयष्कर हुन्छ । यी कार्यहरुलाई अनुसरण गर्ने कोसिस गर्नुस् ।

१. प्राकृतिक खाना नै रोज्नुस्ः हामीले बजारमा पाउने धेरै खानाहरुमा शरीरलाई आवश्यक तत्वको कमी हुने गर्छ । त्यस्तै, मिठो स्वाद र रंगीन देखिने बनाउन प्रयोग गरिने अखाद्य किसिमका रसायनहरु हुने भएकाले पनि त्यस्ता खानेकुराको नियमित उपयोगले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको हुन्छ । कहिलेकाहीँको सेवन बेग्लै कुरा हो तर सकेसम्म आफ्नो निरन्तर खानाको लागि प्राकृतिक खाना तथा फलफूल नै प्राथामिकतामा राख्नुस् । सिजनअनुसारका फलफूल, सागपात, गेडागुडी, आलु, चना, केराउ, आदि नियमितरुपमा उपयोग गर्नुहोस् ।

२. चलायमान बन्नुहोस्ः मानिसले आफूलाई फिट तथा तन्दुरुस्त राख्न धेरै कडा किसिमका शारीरिक अभ्यास गर्ने गर्छन् । यद्यपि पछिल्ला अनुसन्धानले दैनिक केवल १५/२० मिनेटको को शारीरिक अभ्यास वा हप्तामा २ घण्टाको सामान्य हिँडाइले नै मानिसलाई आफ्नो स्वास्थ्य सन्तुलित बनाउन सहयोग गर्दछ । त्यसकारण समय नहुँदा वा दैनिकको धेरै अभ्यासले तनाव उत्पन्न गराएको छ भने यसो पो गर्ने कि ?

३. विषादीयुक्त वस्तु उपयोगबाट टाढै बस्नुस्ः टक्सिन् भन्ने बित्तिकै अल्कोहलिक पदार्थ तथा धुम्रपानको प्रयोग भन्ने बुझिन्छ तर हामीले नियमित प्रयोग गर्ने चिनीको मात्रा, धेरै चिल्लो पदार्थ तथा बोसोयुक्त खाना, आदिले पनि स्वास्थ्यलाई शरीरमा स्लो पोइजनको काम गरिरहेको हुन्छ । तसर्थ यस्ता खानेकुराबाट सम्भव भएसम्म टाढै रहनु उचित हुनेछ ।

४. ध्यान गर्नुस्ः नियमित ध्यान गर्नाले मानिसको रोगसँग लड्ने क्षमता वृद्धि हुने, मस्तिष्कमा खुशी प्रदान गर्ने किसिमका सेरोटोनिन, एन्डरफिन्स जस्ता मस्तिष्क रसायनहरु उत्पादन हुने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, सृजनशील बनाउने लगायतका दर्जनौँ फाइदाहरु हुन्छन् । तसर्थ केही समय आफैँभित्रको यात्रामा सामेल भएर पनि आफ्नो जीवनलाई व्यवस्थित बनाउन सक्नुहुन्छ ।

५. प्राकृतिक ठाउँको घुमघामः प्रकृतिको काखमा रमाउन कसलाई पो मन नपर्ला र ? वास्तवमा रिसर्चहरुले के देखाएका छन् भने जति हामी प्रकृतिसँग साक्षात्कार गर्छाैँ त्यति नै हाम्रो स्वास्थ्यमा सकारात्मक परिवर्तनको लागि सहयोग गर्छ । हामी भित्रको हार्माेनल सन्तुलनमा समेत काम गर्छ । त्यस्तै केही समय घाममा बसेर प्राप्त हुने भिटामिन ‘डि’ ले माटोपना घटाउने, हार्माेनसम्बन्धी समस्या तथा क्यान्सरसम्म लाग्न नदिने कार्यमा मद्दत गर्दछ । तर धेरै समयमा घाममा रहँदा विकिरणहरुको नकारात्मक प्रभाव पनि पर्न सक्छ, यसमा भने सचेत हुन आवश्यक छ ।

सम्बन्धित खवर

Back to top button