काठमाडौं : पतिकाे ब्रेन ह्यामरेज हुँदा पत्नीकाे विजाेग भएकाे छ । चालीस वर्षीया सानु सुवेदी कहिले एक्लै त कहिले घरबेटीसामु भक्कानिन्छिन्। पति र सासूको उपचार गर्न नपाउँदाको पीडाले छटपटाउँछिन्। लालाबालाको भविष्यको चिन्तामा एकोहोरिन्छिन्।
सानुका पति अशोक सुवेदी बोल्न खोज्छन्। तर प्रस्ट आउँदैन। हिँड्न खोज्छन्। खुट्टा चल्दैन। सानु भन्छिन्, ‘पतिलाई ब्रेन ह्यामरेज भएको थियो। ऋण खोजेर वीर अस्पतालमा शल्यक्रिया भयो। अस्पतालले एक महिना राखेर उपचार गर्नुपर्ने बताएपछि पैसा नभएर घरमै ल्याइयो।’
टाउको दुख्ने र अचानक हातखुट्टामा झट्का महसुस भएपछि उनको मष्तिस्कको एमआरआई गरियो। नेपाल मेडिकल कलेज अत्तरखेल, जोरपाटीमा कार्यरत रामेश्वर भण्डारीको सहयोगमा स्वास्थ्य जाँच गरेपछि शल्यक्रिया गरिएको सानुले बताइन्। वीर अस्पतालमा शल्यक्रिया गर्न १ लाख २७ हजार ऋण लिइन्। गत जेठ २७ गते शल्यक्रिया गरियो।
मस्तिष्कको एमआरआई गरेपछि उनको टाउकोमा ट्युमर पलाएको पत्ता लागेको छ। त्यसको पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्। साँझबिहान के खाऊँ भन्ने समस्यामा जुध्नुपरिरहेका बेला शल्यक्रिया गर्ने रकम नभएको उनले बताइन्। उनले भनिन्, ‘दुई लाख लाग्छ रे। कसरी जुटाऊँ ? ’
सत्तरी वर्षीया सासु सुर्जी र पतिको स्याहार गर्दैमा उनको दिन बित्छ। चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालले सुर्जीको मुटु सुन्निएकाले गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रेफर गरेको छ। सासू र पतिका लागि उपचार गर्ने रकम नहुँदा उनी चिन्तामा डुबेकी छन्। कुनै मनकारीले सहयोग गरे बचाउन सकिने उनले बताइन्।
चार महिनाअघिसम्म सानुले अरूको घरमा गई भाँडा माझ्ने, लुगा धुने गर्थिन्। तर, अहिले पति र सासूको हेरविचार गर्नु पर्ने हुँदा काम गर्न भ्याएकी छैनन्। उनका छोरी अस्मिता चार र छोरा अनमोल एलकेजीमा अध्ययनरत छन्। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित एउटा कोठामा पाँच जना बस्छन्। घरबेटी हरिदास वैष्णव भन्छन, ‘छोराछोरी साना छन्। उनीहरुको दुःख देख्दा मन दुख्छ।’ याे सामग्री दिनेश गौतमले अन्नपूर्णकाे लागि तयार पारेका हुन् ।