जानिराख्नुस् ! असल अभिभावकमा हुनुपर्ने १२ विशेषता
काठमाडाैं : अभिभावक हुन पाउनु सौभाग्य हो । तर, अभिभावक मात्रै हुनु र असल अभिभावक बन्नुमा ठूलो भिन्नता छ । कोही असल अभिभावक बन्न सफल हुन्छन् त कोही हुन सक्दैनन् । सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन् । कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन् । कडा रूपले प्रस्तुत हुन्छन् । हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ । यस्तो स्वभावले बालबालिकामा नराम्रो छाप पर्न जान्छ ।
सन्तानको आलोचना
बालबालिकाबाट गल्ती हुनु स्वभाविक हो । तर, सो गल्तीलाई अभिभावकले कसरी सच्याउने भन्ने महत्वपूर्ण हो । रचनात्मक तरिकाले सुधार्नभन्दा उनीहरूको निन्दा मात्र गर्दा, आत्म विश्वासमा ठेस लाग्ने आलोचना गर्दा यसले बालबालिकामा नपत्याउँदो असर गर्छ । अभिभावकहरू यसप्रति सतर्क हुनुपर्छ । उनीहरूलाई सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट उत्साही बनाउन सक्नुपर्छ ।
सहयोगी वातावरण बनाउन नसक्नु
प्रायः नेपाली समाजमा सन्तानलाई सानैदेखि कडा निगरानीमा राख्ने प्रचलन छ । त्यसो गर्दा समाजलाई हेर्ने उनीहरूको दृष्टिकोण पनि रूखो हुने गर्छ । अरूको भावनाको कदर नगर्ने र समिप्यता नराख्ने स्वभाव बन्नसक्छ । उनीहरू पछि गएर आफ्नो सन्तानलाई पनि सोही वातावरणमा हुर्काउँछन् । सन्तानलाई सुहाउनेगरी कडा वातावरणमा राख्दा उनीहरूमा आत्मनिर्भर बन्ने विश्वास पनि बढ्छ । सन्तानलाई परिपक्व बनाउन यो शैली गलत त होइन तर यसबाट सन्तानको विकास स्वस्थ तरिकाले सक्दैन ।
भावनाको कदर
‘केटा मान्छे रुनु हुन्न’ यो धारणा विश्वभरका सबै पुरुषमा लागू हुन्छ । सानै उमेरदेखि आफ्ना भावनालाई दबाउनुपर्छ भन्ने सोचले बालबालिका खुलेर भावना अभिव्यक्ति गर्न सक्तैनन् । यसरी हुर्कंदै जाँदा बालबालिका डिप्रेसन, एक्लोपनको सिकार भइरहेका हुन सक्छन् । भावना अभिव्यक्त गर्ने बानीले उनीहरूलाई अरूको भावनाप्रति संवेदनशील हुन सिकाउँछ ।
सन्तानमार्फत् इच्छा पुरा गर्ने
कतिपय सन्र्दभमा अभिभावकहरू आफ्ना अधुरा र अपूरा चाहना सन्तानका माध्यमबाट पूरा गर्न खोज्छन् । आफू डाक्टर, इन्जिनियर, वकिल आदि बन्न नसके पनि सन्तान बनोस् भन्ने चाहन्छन् । तर, अभिभावकको यो इच्छाले सन्तानको इच्छा निमोठिएको छ वा छैन भन्ने पर्वाह गरिँदैन । अभिभावकको यो चाहनाले बालबालिकाको लक्ष्य पहिले नै निर्धारण गरिदिन्छ । यसले बालबालिकामा रहेको उचित प्रतिभाको प्रस्फुटन हुनसक्दैन ।
खुशीको जिम्मेवार सम्झनु
प्रायः अभिभावक आफूले सन्तानका लागि गरेको दुःख देखाएर आफ्नो खुशीको जिम्मेवार उनीहरूलाई बनाउँछन् । यसले गर्दा सन्तानले गर्ने हरेक क्रियाकलापमा असर परिरहेको हुन्छ । अभिभावकले के भन्ने हुन् वा सोच्ने हुन भन्ने पीर उनीहरूमा देखिन्छ । अभिभावक बन्नु तपाईंको इच्छा थियो भने सन्तानको व्यक्तिगत रुचिमा हस्तक्षेप गर्नु अभिभावकको स्वार्थ हो । सन्तानलाई केही समय खुल्ला पनि रहन दिनुपर्छ ।
घोचपेच
हामी आफन्त तथा साथीभाइमाझ चित्त नबुझेका कुरा व्यंग्यात्मक तरिकाले भन्छौँ । तर, उक्त व्यवहार हुर्कँदै गरेको बच्चामा उपयुक्त हुँदैन । उनीहरू ठूला व्यक्तिले जस्तै पचाउन सक्दैनन् । घोचपेचले उनीहरूलाई मानसिक आघात पर्न सक्छ । यसले उनीहरू विस्तारै परिवारमा घुलमिल हुन छोड्छन् । उनीहरूको गल्ती औंल्याउनुभन्दा पनि रचनात्मक तरिकाले प्रस्ट्याउँदा असल अभिभावकको कर्तव्य पुरा हुन्छ ।
सन्तानमा दोष थोपर्नु
घरायसी समस्या स्वभाविक हो । सबैको घरमा हुन्छ । यस्ता समस्याको दोष प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बालबालिकालाई दिइने गरेको छ । यसबाट उनीहरूको मनोविज्ञानमा ठूलो असर पर्छ । पछि गएर उनीहरू त्यही प्रवृतिका भरिया बन्छन् । यसले उनीहरू पनि आफ्ना गल्ती लुकाउन साथी, वा साना भाइबहिनीलाई दोष दिने स्वभावका हुन्छन् ।
त्रासमय वातावरण
परिवारमा माया, स्नेह, खुशीसँगै थोरै मात्रामा डरको वातावरण हुनु जरुरी छ । उनीहरूलाई अनुशासित राख्न जायज डर चाहिन्छ । तर अनावश्यक डर र त्रासमय वातावरणले भने बालबालिकालाई अनुशासित भन्दा पनि भावना अभिव्यक्त गर्न नसक्ने बनाउँछ । बालबालिकाले अभिभावकलाई डरभन्दा सम्मानले आदर सत्कार गर्न सिक्नु पर्छ । हरेक समस्या खुलस्त रूपमा व्यक्त गर्नसक्ने अभिभावक बन्नु सफलता हो ।
ध्यान केन्द्रित गराउनु
कतिपय अभिभावक बच्चाबच्चीलाई हुर्काएको, बढाएको, खानपान, हेरचाह आदी गराएको जस देखाएर उनीहरूलाई आफूप्रति सम्पूर्ण ध्यान केन्द्रीत गराउन खोज्छन् । सन्तानलाई केही समय नितान्त व्यक्तिगत समय व्यतित गर्न दिनुपर्छ ।
आर्थिक प्रतिबन्धमा राख्नु
कतिपय अवस्थामा बालबालिकालाई पैसाको प्रलोभन देखाउने गरिन्छ । आफूले गल्ती गरे पैसा वा गिफ्ट दिएर फकाउने फुलाउने स्वभाव कति अभिभावकको हुन्छ । यो एकदम गलत तरिका हो । अभिभावकले पनि आफूले गरेको गल्ती बालबालिकासँग स्वीकार गरेमा उनीहरूमा सो बानी विकास हुनजान्छ ।
मौनतामा राख्नु
बालबालिका जिज्ञासु हुन्छन् । उनीहरू उत्सुकताका साथ अनेकौं प्रश्न गर्छन् । अभिभावकले उनीहरूको उत्सुकतामा मौन रहने अथवा ‘नकराऊ’ भनेर गाली गर्ने हो भने बालबालिकाको उत्सुकता सँधैका लागि मरेर जानसक्छ ।
परिधिमा बस्ने
बालबालिकाहरू प्रायः अग्रजहरूबाट सिक्छन् । अभिभावकले बालबालिकाको व्यवहार अवलोकन गरिरहेका हुन्छन् । र त्यसको अनुसरण बालबालिकाले गरिरहेका हुन्छन् । पूर्वीय संस्कृतिका अनुसार अभिभावकलाई आदर गर्नु सन्तानको कर्तव्य हो । तर, अभिभावक पनि बालबालिकासामु आदरसाथ प्रस्तुत हुनसके उनीहरूमा सो व्यवहारको अमिट छाप पर्न जान्छ ।