आधुनिक प्रेसपासकाे आवेदन भर्ने तरिका सिकाउँदै सञ्चार रजिष्ट्रारकाे कार्यालय

हेटौडा : प्रदेश ३ काे सञ्चार रजिष्ट्रारको कार्यालयले बिहीबार हेटौंडामा सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गर्ने प्रक्रिया मकवानपुरका पत्रकारहरुलाई सिकाएको छ। पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र प्राप्त गर्न सफ्टवेयरमा विवरण अपलोड गराउने प्रक्रिया सिकाइएको हो।

कार्यक्रममा कार्यालयका अधिकृत सुरेन्द्र कार्कीले सफटवेयरमा आवेदन दिने विधिका बारेमा जानकारी गराएका थिए । पत्रकारहरुकाे जिज्ञासालाई सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रष्टयाएका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको र सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारलाई मात्र स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको बताए। उनले प्रदेश ३ मा सञ्चार रजिष्ट्रारको कार्यालय मार्फत पत्रकारले संघीयताको अभ्यास गर्न पाएको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले प्रदेश ३ का पत्रकारले संघीयताको अभ्यास गर्न पाएको बताए। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ध्यान पुरयाउन अध्यक्ष बिष्टले सञ्चार रजिष्ट्रारको कार्यालयको ध्यानाकर्षण पनि गराए।

सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गर्ने प्रत्येक पत्रकारले एक सय रुपैयाँ कोषका लागि योगदान गर्दै आएका छन्। सञ्चार रजिष्ट्रारको कार्यालयले पनि उक्त कोषका लागि रकम बिनियोजन गर्ने तयारी गरिरहेको छ । गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सो सफटवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारहरुले आफनो ठाउँबाट अनलाइन मार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ।

सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत विवरण पनि राखिएको हुन्छ। पत्रकारहरुले आफ्नो विवरण राखेपछि सञ्चार रजिष्ट्रारको कार्यालयले कागजात अध्ययन गरी स्वीकृत गरेपछि सफटवेयर मार्फत नै परिचयपत्र पिडिएफ फाइलमा तयार हुन्छ र छापिन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ।

सम्बन्धित खवर

Back to top button