झाेलुङ्गे पुल बनेपछी स्थानीय हर्षित


म्याग्दी : रघुगंगा गाउँपालिका ६ ठाखानीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय निकै हर्षित भएका छन् । जिल्लाकाे रघुगंगा गाउँपालिका ६ ठाखानीको ठूलो खोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय निकै हर्षित भएका हुन् । वर्षाै देखि वारपार गर्दा समस्या झेलिरहेका यस क्षेत्रका १ सय ३ घरधुरीका ५४० जनसंख्या लाभान्वित भएका हुन् ।
लामाे समयदेखि वर्षाकाे समयमा निकै कठिनाइ झेल्दै आएकाे भएपनि यसपटक झाेलुङ्गे पुल बनेपछि आफूहरु निकै हर्षित भएकाे स्थानीयले बताएका छन् । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु) को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको वडाअध्यक्ष मनकुमार शेरपुंजाले जानकारी दिए।



नवनिर्मित पुलको मंगलबार वडा अध्यक्ष शेरपुजाले उद्घाटन गरेका छन् । ३३ लाख ८० हजार २३६ रुपैयाँको लागतमा निर्माण भएको सो पुलले ठाडाखानी, दुख, बिमका बासिन्दाका साथै धार्मिक पर्यटकीयस्थल मालिका जाने आउने पर्यटक र भक्तजनलाई सुविधा पुग्ने वडाअध्यक्ष शेरपुंजाले जानकारी दिए।
पुल निर्माणका लागि टिबिएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको थियो। मजदुरको ज्याला, निर्माण सामग्री खरिदको भुक्तानी गाउँपालिकाबाट भएको हो।गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो।








