कावासोतीको पर्यटकिय क्षेत्र नारायणी धाम प्रचार प्रसार हुन नसक्दा ओझेलमा


मिना कंडेल
कावासोती, १७ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती १७ अमलटारीमा पर्नैं नारायणी गङ्गेश्वरधाम परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ । तर पनि उचित प्रचार प्रसार हुन नसक्दा पर्यटकिय क्षेत्र ओझेलमा परेको छ ।
कावासोती नगरपालिकाको डण्डादेखि करीब १० किलोमिटर पछि आउने यस क्षेत्रमा २०५२ सालमा महादेवको मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गर्न थालिएको थियो । नजिकै रहेका थारु ग्रामीण बस्ती, अमलटारी घरवाससहित मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अवलोकन गर्न समेत पाइने भएपछि आन्तरीक पर्यटक यस क्षेत्रमा आउने क्रम बढेको हो ।



नारायणी धाम परिसरमा आउने व्यक्तिको सुविधाका लागि विश्रामस्थल निर्माण गरिएको छ । धाम परिसरमा वृद्धाश्रम तथा आवश्यक संरचना निर्माणको योजना समेत रहेको समितिले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ ।
पूर्वी नवलपरासीमा पर्यटकिय स्थल धेरै रहेको भएता पनि यसको प्रचार प्रसार र सम्र्बंद्धन गर्न नसक्दा ओझेलमा पर्नै गरेको धाम व्यवस्थापन समितिका अध्यक्ष युक्तप्रसाद गौडेलले बताउनु भयो । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । नारायणी नदीको सुन्दरतासँग देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने भएकाले पनि यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो रहेको छ ।