नवलपुरमा चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा


कावासोती, १७ असोज । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता कार्यलाई निरुत्साहित बनाउँदै आम नागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउने आवश्यक तयारी गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) का प्रमुख प्र.उ. मोहन प्रसाद पोखरेलले बताउनु भयो ।



कार्यालयले दैनिक रुपमा सवारी गस्ती, इकाइहरुको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, सादा पोशाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्षा लगायतमा गरी करिव ३०० जना प्रहरी परिचालित भएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो ।
चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुँदा उनीहरुको समस्या सम्बोधन गर्नका लागि प्रहरी कार्यालयले जिल्लाका चार ठाउँमा नागरिक सहायताकक्ष स्थापना गरेको जिल्ला टाफिक प्रहरी निरीक्षक सुरेश बिक्रम शाहले बताउनुभयो । गैडाकोट, कावासोती , अरुणखोला र दुम्किवासमा गरि चार ठाउँमा सहायताकक्ष स्थापना गरिएको हो ।
यसैबीच प्रहरीले सम्बन्धित टिकट काउन्टरबाट टिकट काट्न, पाकेटमार तथा विभिन्न बहाना बनाइ ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।








