बाँके, चौकीदारलाई महिला कैदीबन्दीले थुने

पुस ४, २०७६ कोहलपुर : नेपालगन्जस्थित जिल्ला कारागारका महिला कैदीबन्दीले कारागारका चौकीदारलाई महिला बन्दीगृहमा थुनेका छन्। चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोपमा महिला कैदीबन्दीले शुक्रबार दिउँसो कारागारका चौकीदारलाई महिला बन्दीगृहमा थुनेको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए। महिला कैदीबन्दीले चौकीदारलाई जेल प्रशासनसँग समेत भेट्न दिएका छैनन्। वार्ताका लागि महिला बन्दीसँग अनुरोध गरे पनि उनीहरू वार्ताका लागि तयार नभएको उनले बताए। कारागारमा भएको घटनाको शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई जानकारी गराए पनि समस्या समाधानका लागि पहल नभएको उनको भनाइ छ। ‘कारागारमा भएको घटनाको प्रशासनलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन,’ पौडेलले भने। १४ कात्तिकमा पुरुष कैदीबन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरुवा गराएका थिए। त्यसपछि बाँके जिल्ला कारागार प्रमुखविहीन छ। प्रमुख जिल्ला अधिकारी खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी तोकिएको बताए। तर, उनी अहिलेसम्म कारागारमा हाजिरी भएका छैनन्। श्रेष्ठ सोमबारसम्म कारागारमा हाजिरी हुने सिडिओ खड्काले जानकारी दिए |

सम्बन्धित खवर

Back to top button