आफन्तद्वारा भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध


कोहलपुर
२०७६पुस ९



डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका आफन्तले बुधबार बिहानदेखि भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्। भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका १ स्याउले बजारमा आफन्तले टालय बालेर सडक अवरुद्ध पारेका हुन्। क्षतिपूर्तिको माग गर्दै आफन्तले राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका १ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो। प्रहरीका अनुसार महेन्द्रनगरबाट बझाङ आउँदै गरेको महाकाली यातायातको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गन्यापधुरा गाउँपालिका ३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साता जिल्लाको यातायात ठप्प दुई वटा राजमार्ग अवरुद्ध पारिँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प रहेको छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, दार्चुला, अछाम र बाजुराको मुख्य राजमार्ग भीमदत्त र केआइसिंह अवरुद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। बिहानै गन्तव्यतिर हिँडेका यात्रुहरू मारमा परेका छन्। उचित क्षतिपूर्तिको माग मृतक बोहराका आफन्तले उचित क्षतिपूर्तिको माग अघि सारेका छन्। युवकको मृत्युपछि यातायात समितिले कुनै वास्ता नगरेको भन्दै आफन्त आन्दोलित भएका हुन्। ‘जिल्ला प्रशासन कार्यालयमा बुझ्दा यातायात समितिले ५० देखि ६० हजारमा मात्रै कुरा मिलाउनु भनेको छ रे’ मृतकका एक आफन्तले भने, ‘५०-६० हजारको कुरा होइन। हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ। समितिको मान्छे यहाँ आएर हामीसँग कुरा गर्नुपर्यो।’ उचित क्षतिपूर्ति नपाउँदासम्म आफूहरूले सडक अवरुद्ध पारिरहेने उनको भनाइ छ। शव पोस्टमार्टम हुन सकेन मृतक बोहराको शव अहिले डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालको शव घरमा राखिएको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक न्यौपानेलेल भने, ‘शवको पोस्टमार्टम हुन सकेको छैन। क्षतिपूर्तिमा कुरा नमिल्दा आफन्तले शवको पोस्टमार्टम गर्न दिइरहेका छैनन्।’








