मृतकका परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय: धनुषा बमकाण्ड

 

कोहलपर

२०७६,पुस १४

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाएकाको परिवारलाई ३ लाखका दरले सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई ३ लाख र घाईतेलाई १ लाख ५० हजारको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। घटनाको १७ दिनपछि प्रदेश सरकारले मृतक परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ। घटनाको दोस्रो दिन मृतक परिवारलाई भेटेर मुख्यमन्त्री लालबाबु राउतले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। बम विस्फोट घटनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय राजेश्वर साह र उनका छोरा १४ वर्षीय आनन्द साहको मृत्यु भएको थियो। घटनामा राजेश्वरका अर्का एक छोरा, एक छोरी र एक प्रहरी जवान घाइते भएका थिए। उनीहरूको उपचार धरानमा भइरहेको छ। मृतक राजेश्वरको आँगनमा रहेको गेटमा झुण्डिएको अवस्थामा बम फेला परेको थियो। उक्त बम छोएपछि विस्फोट भएको थियो। घटना कसले घटाएको कुरा अहिलेसम्म सार्वजनिक हुन सकेका छैन। प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर

Back to top button