भेरी अस्पताल नेपालगन्जबाट कोरोना परीक्षण हुँदै

नेपालगन्ज, ४ वैशाख : बाँकेको नेपालगन्ज स्थिति भेरी अस्पतालमा कोभिड–१९ को परीक्षण शुक्रबारदेखि हुने भएको छ । काठमाडौंबाट विज्ञसहितको टोलीले नि’रीक्षण गर्दा उचित ठानेमा भोलि शुक्रबार देखि नै कोरोना परीक्षण सुरु हुने भएको हो ।

आज विज्ञको टोली यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको नि’रीक्षण, यन्त्रको जाँ’च र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु हुन सकेको थिएन । नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा.थापाले बताए ।

प्रदेश नं ५ सरकारले भेरी अस्पतालबाट कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने निर्णय गर्नासाथ यसको तयारी शुरु गरिएको थियो । त्यसका लागि अस्पतालले एक माइक्रोबायोलोजिष्ट र अन्य ल्याब टेक्निशियनलाई तयारी अवस्थामा समेत राखिसकेको छ ।

डा. थापाका अनुसार अस्पतालमा रु २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button