यो जन्ममा तिम्रो आमा बन्ने सपना पूरा भएन बहिनी ! अर्को जन्ममा पूरा होस्

यती बेला विश्व कोरोना महामारीसँग लडिरहेको छ । कोरोनाको कहरबाट आफ्ना नागरिकहरुलाई बचाउन र यसको नियन्त्रण तथा रोकथामका लागि देशलाई बन्दाबन्दी अर्थात लकडाउन गर्ने सम्मका कार्यहरु विभिन्न देशहरुले अबलम्बन गरिरहेको अवस्था छ । यसबाट हाम्रो देश समेत अछुतो रहन सकेको छैन २०७६ चैत्र ११ गते देखि विभिन्न चरणहरुमा बन्दाबन्दी थप्ने कार्य भईरहेको छ । २०७७ बैशाख २४ गतेको नेपाल सरकारको निर्णयानुसार नेपालमा २०७७ जेठ ५ गतेसम्मका लागि बन्दाबन्दी कायम राख्ने निर्णय भएको छ । यो बन्दाबन्दीको समयमा विभिन्न कारणले घरबाहिर रहेकाहरु घर फर्कि सकेको अवस्था छ भने केही अलपत्र परेकाहरुलाई स्थानीय सरकार लगायतको पहलमा घरफिर्ती गरिएको अवस्था छ । केही जसोतसो घर नगएर जहाँ जुन स्थानमा थिए सोही स्थानमा सुरक्षित रुपमा बसिरहेका छन । जस मध्ये एक म पनि पर्दछु । मेरो जन्म घर कुसे गाउँपालिका जाजरकोट भए पनि कर्मथलोको रुपमा गोरखा जिल्लामा पूर्णिमा कार्यक्रममा काम गरिरहेको छु र मेरो श्रीमती अध्ययनको सिलसिलामा दोलखा जिल्लाको जीरी नगरपालिका ५ मा छोरी सहित बस्ने भएकोले म पनि त्यही छु । यो बन्दाबन्दीको समयमा अफिसले पनि वर्क फर्म होम भनेको छ र अहिले म बन्द कोठाबाटै अफिसको काम गरिरहेको छु । जसले गर्दा म र मेरो परिवारलाई खाना नानाको व्यवस्था गर्न सकेको छु । यो बन्दाबन्दीको समयमा शनिबार बाहेक अरुबारमा विहान अफिसका सहकर्मीहरुसँग स्काईप बैठकमा भाग लियो । कार्यरत क्षेत्रको अवस्था के छ फोनमा बुझ्यो । साथीभाईहरुसँग भला कुसारी गर्यो । सामाचारहरु पढ्यो अफिसमा रिपोर्टिङ्ग ग¥यो यसरी नै जीवन चलिरहेको छ र थियो ।

आज बैशाख २७ गते शनिबार भनेपछि अलि ढिला उठ्ने, आज त बिदा छ, केही गर्नु पर्दैन शनिबार त हो नी कसले फोन गर्ला र भन्ने लागिरहेको थियो । कति कोठा भित्रै बस्ने आज कतै यसो हावा खान निस्कनु पर्छकी भन्ने पनि मनमा लागिरहेको थियो तर यो कुरा श्रीमती र महिली बहिनीलाई भने भनेको थिइन । आज शनिबार हो जा माईली मासु लिएर आईजा आज मासु खाउला भनेर मैलै गरेको प्रस्ताव सर्वसम्म पारित भयो र माइली बहिनी मासु लिन गइ । श्रीमति भान्सा तिर लागिन् भने म छोराछोरीसँग रमाइलो गरेर भुलाउन तिर लागें । विहानको नौ बजिसकेको थियो । खाना तयार भइसकेको थियो । नानीको ममीले खाना खाऔं भनेर प्रस्ताव गरिन् मैले मासु पकाएर खाउन भने, बहिनीले मासु ल्याएर आईसकेको थिइ । मासु भर्खर पकाउन बसालेका थियौं । विहानको ९ः३८ मिनेटमा मोबाईलमा मिस कल आयो कस्को हो भन्नेर हेरें । सेभ गरेकै नम्बर रहेछ कान्छी बहिनी । कहिले काही फोन गरे पनि प्राय: यसरी नै मिस कल आउने गथ्र्यो । कल व्याक गरे फोन रिसिभ भयो तर आवाज फरक थियो ।
मैलै हलो भने उताबाट पनि हलो को दाई बोल्नु भयो यति शब्द सुनियो र फोन काटियो । जुन आवाज मैले सुने त्यो मेरो बहिनीको आवाज थिएन परिचित जस्तो तर नयाँ लाग्यो । यसो सोचे वहिनीको नन्द वा अरु कोही होलान् । उसो त स्काईको नम्बर त्यति भरपर्दो पनि थिएन धेरै बेर सम्पर्क हुन सकेन भनेपछि फेरी सम्पर्क भयो र फेरी तिनै महिला हतारिएर को ..को ..दाई बोल्नु भयो भनिन् यति बेलासम्म मलाई लागि सकेको थियो की पक्कै पनि केही भएको हुनुपर्छ ।

यताबाट मैले पनि हतारिएर तपाई को हो किन राम्रेसँग कुरा गर्नु हुन ? कान्छी कहाँ छे फोन दिनु न भने यति भनेपछि फेरी फोन काटियो । यति बेलासम्म मलाई लाग्यो बहिनी केही विरामी वा लेडेर घाईते भएको हुनुपर्छ । मन आत्तियाे । फेरी फोन गरे एक बृद्धको जस्तो आवाज सुनियो । मैले तत्काल भने तपाइँ को हो मेरो बहिनी कहाँ छे उसलाई फोन दिनु न । उताबाट मलिन स्वर तर स्वाँ स्वाँ र सुकसुक गर्दै जवाफ आयो बाबु बहिनी त अब कहिल्यै नबोल्ने भइन् । यति भने पछि पुनः फोन काटियो ।

फोन काटिन नपाउदै मेरो श्रीमति र माईली बहिनी जो मसँग बसीरहेकी छे समाल्न गाह्राे हुने गरी रुन र कराउन थाले । उनीहरुलाई सम्झाउनुको साटो म पनि उनीहरुकै स्वरमा स्वर मिलाउन थालेछु ।

सबैजना कराएको सुनेपछि घरीभेटी र अरु कोठामा बस्नेहरु जम्मा भए के भएको किन यसरी कराएको भनेर प्रश्न गर्न थाले र के भएको भनेर उनीहरुलाई घटना बताउन सम्म हामी तीनै जनाको आवाज फुरेन खाली रोई मात्र रह्यौ । मेरो छोरी जो अहिले ८ वर्षको भइन् उसले घरमा फुपू वित्नु भयो रे भने पछि बल्ल कारण उहाँहरुले थाहा पाउनु भयो । ……र केही बेर रोइकराई गरेपछि अलि शान्त भयो र घरभेटी लगायतलाई पिडाबोधको अवगत गराईयो ।

तै पनि मनले पत्यार मानेको थिएन । दह्राे मन बनाएर सल्लाह ग¥र्याैं । पहिले यर्थाथ के हो बुझौं । भनेर सबैतिर फोन लगायौं । जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नंं. ७ नारे जहाँ मेरो जन्म घर र बारेकोट गाउँपािलका वडा नं. ६ ताँसी जहाँ मेरो बहिनीले विहे गरेको घर । दुबै तिरको समस्या एउटै जहाँ नेपाल टेलीकमको स्काई फोनले मात्र काम गर्छ र त्यो पनि घाम लागेको समयमा मात्र । त्यो बाहेको अरु फोनको सुविधा यहाँ छैन र हालसालै मात्र केही सरकारी कार्यालयमा वाईफाई जडान गरिएको छ त्यो पनि आज शनिबारको दिन खुल्ने कुरै भएन । केही समय फोन सम्पर्क नै हुन सकेन । फेरी उतैबाट फोन आयो । हो हल्ला र कोलाहल्को बीचबाट एउटा आवाज…………हजुर……..म फलानो

हिजो देखि यही छु । भान्जी हिजो साँझ देखि एक्कासी विरामी भइन् । पेट दुःख्यो भनेर बेसरी कराउन थालीन् । केही लाग्यो की (भुत, मशान) भनेर हिजो देखि नै धामी झाक्री सबै गर्याैं । विहानसम्म पनि गार्याैं तर हामीले बचाउन सकनौं विहान साँढे नौ बजे तिर भान्जी वितीन् ।
यो भन्दा बढी कुरा सुन्ने ममा सामर्थ्य भएन र फोन काटी दिए । आफू नौडाँडा पारी छु । बन्दाबन्दीले जतीबेला पायो त्यही बेला जान पनि पाइदैंन गयो भने पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने अवस्था छ । सरासर गाडी पाएको अवस्थामा जीरीबाट काठमाण्डौ, काण्ठमाण्डौबाट रात्रीबस चढेर जाजरकोट सदरमुकाम र त्यहाँबाट बारेकोट पुग्न रात दिन हिडेर मलाई तीन दिन लाग्थ्यो । अहिलेको समयमा त त्यो पनि सम्भव भएन । यस्तै यस्तै सोच्दै घरमा जानकारी गराउने निर्णय गरे । तर ममीलाई कसरी बहिनीको मृत्यु भयो भनेर भन्नु । भनिन्छ ‘आमा मरेको छोराछोरीलाई सुनाईदिए हुन्छ तर छोराछोरी मरेको आमालाई नसुनाईदिनु ।’ यही सोचेर पहिले दाइको छोरा भतिजलाई फोन गरे र उसलाई खवर गरिसकेपछि आमालाई कान्छी बिरामी छ भन्नेर लिएर जाने निधो भयो । यो बीचमा आफन्त र शुभचिन्तकका फोनहरु आउने क्रम जारी नै रहयो ।

तर मेरो मनमा भने ज्वारभाटा दन्केझै आगो दन्किन थाल्यो र भन्न थाल्यो हत्या हो या कालगतीले मेरी बहिनीको मृत्यु भएको हो । यो कुरा तैँले पत्ता लगाउनै पर्छ । यसका पछाडी केही तथ्यहरु छन् जुन हजारौं महिला दिदी बहिनीहरुले भोग्नु भएको होला जसरी मेरी बहिनीको तितो अनुभव भोगाई रहेको थियो । सबै कुरा लेख्यो भने महाभारत नै बन्न सक्छ तर म केही कुरा छोट्यार लेख्ने प्रयास गर्दैछु । यसो भन्दै गर्दा यो पागल भएको हो की भनेर नसम्झिनुहोला । होला मेरो बहिनी रोगले नै मरेको भए पनि मेरो बहिनीको जस्तो पारिवारिक पीडा कुनै पनि बहिनीले भोग्नु नपरोस बस म यही चाहान्छु ।

घटनाको सुरुवात यसरी हुन्छ

२०७२ साल मंसिर १ गते बारेकोट गाउँपालिका वडा नंं. ६ कार्की ज्यूला भन्ने ठाउँमा जात्रा(मेला) लाग्छ । उक्त मेला हेर्नका लागि माईली र कान्छी बहिनी जान्छिन् । त्यतिबेला मेरो बसाई आफ्नै जिल्लाकाे सदरमुकाममा नै थियो । मेला सकिएपछि माईली बहिनी घर आउँछे बहिनीको विवाह भएको खबर सुनाउँछे । २०५४ साल फाल्गुन १४ गते जन्मिएकी भर्खर १८ वर्षमा दाैडिरहेकी सानै उमेरमा विहे गरी बालविवाह भयो बरु पछि उसैसँग विवाह गरिदिने तर अहिले फिर्ता ल्याउने घरमा सल्लाह हुन्छ । सोही बमोजिम कान्छीलाई बोलाउन मान्छे गए तर उसले मेरो लभ परेको थियो, आखिर मैलै जोसँग भएपनि विवाहा गर्नै पर्छ, छोरी मान्छेको इज्जत यस्तै यावत कुरा जिद्दी गरी आफू अब माइतीमा नफर्किने बताएपछि लिन गएका सबै फर्किएका थिए ।

समय बित्दै गयो । विवाह भएको एक वर्ष बितेपछि मेरो कानमा केही कुराहरु सुनिन थाले । गरीब माईतीकी छोरी, आङला नभएकी, काम गर्न नजान्ने, अल्छीनी, केही नसिकेकी, केही नजानेकी, खाना मात्रा जानेकी लगायत यस्तै थुप्रै शब्दहरुको वर्षात सासु, ससुरा, नन्द र आमाजूबाट हुने गरेका बताउन थाल्छे । यसै बीचमा पहिलो पटक गर्भवती पनि भई र बच्चा छोरा जन्मियो तर मरेको ।

त्यसपछि पुन: शब्दवाणहरु सुरु हुन थाले बोक्सीनी, रागस, राक्षसनी आफ्नै बच्चा आफै मारी, यसका माइतीका कारणले बच्चा मरेको हो आदि आदि । यसका बीचमा तिहार आयो र तिहारमा टिका लगाउन माईत आई । हाम्रो घरपरिवारसँग सबै व्यथा बाँडी निष्पक्षमा बहिनी अब तिमी त्यो घरमा नजाउ । म आफै विकासे कार्यकर्ता भएको नाताले यत्रो हिंसा सहनु हुन्न । जाउँ जिल्लामा महिला हिंसाको उजुरी गरौं र तिमीलाई दु:ख दिनेलाई ठिक पारौं । मैले मेरो निष्कर्ष सुनाए । जवाफमा उसले भनी दाइ आखिर म छोरी मान्छे जहाँ भए पनि विहे त गर्नै पर्छ अहिलेसम्म मेरो श्रीमानले केही भनेको छैन, सासु ससुरा भनेका दुईदिनका पाहुँना त हुन, नन्द र आमाजु पनि म जस्तै अरुकाे घर जाने जात सहनु पर्छ सहेको काँही जादैन भन्छन् । त्यसैले………………..दाइ

यति भने पछि हामीले ठिक छ तर फेरी यस्ता कुरा नसुनाउनु सहेरै बस्नु भनेर घर पठायौं । यसैगरी एसईई पास गरेर विहे गरेकी एक दिन ११ र १२ मा भर्ना खुलेको जानकारी पाएपछि फारम भर्ने कुरा घरमा सुनाईछ । फेरी सासु ससुराले तेरा माईती जागिरी खान्छन्, छोरी पढाउने दायित्व माइतीको हो भनेछन् । त्यो कुरा पनि मेरो कानमा प¥यो र बीरेन्द्र ऐश्वर्या उ.मावि.का शिक्षक मेरो चिरपरिचत भिमराज सिहं सरलाई फारम भरिदिन अनुरोध गरे र उहाँले उधारोमा फारम भरीदिनु भयो र मैले पछि अहाँलाई पैसा दिए । यसरी नै …..उनै चार जनाबाट शब्द बाणको समाचार निरन्तर हाम्रो परिवारको कानमा परिरहे तर बहिनीको जवाफ उहीँ ।

त्यसपछि दोस्रो पटक बहिनी गर्भवती भएको कुरा सुनियो । यसबीचमा फोन मार्फत के कस्तो छ सोधपुछ गर्ने क्रम जारी रहयो । फोन गर्दा कहिले दाउँरा गएको, कहिले घाँस काट्न गएको, कहिले मल बोकेको बाँहेक अरु उत्तर थिएन मेरो बहिनीको । यस्तो अवस्थामा गह्रौ भारी बोक्नु हुन्न पहिलो बच्चा खेर गएर पनि अझै सम्म चेत खुलेन है तेरो । तुरुन्त यहाँ आइजा त । यस्तै भन्थ्यौं हामी अनि उताबाट बहिनीको जवाफ आउथ्यो फेरी माइत गइ र यस्तो भयो उस्तो भयो भन्लान जे हुन्छ सहन्छु आउँदिन एक दिन त भगवानले हात थाप्लान् ।

दिन बित्दै जाँदा डाक्डरले सुत्केरी हुने भनेर दिएको मिति आयो । त्यो २०७४ साल पुष महिनाको २५ तिर थियो सायद । उसले बताएनुसार मिति भन्दा ४ दिन अगाडी पुष २१ स्थानीय मेडीकलमा चेक गराउँदा बच्चा चल्न छाडेको र तुरुन्त अस्पताल जान सल्लाह दिएको घरमा गएर साेही कुरा बताउँदा रित्तो पुषमा बच्चा जन्माउनु हुन्न । अहिले व्यथा पनि लागेको छैन् । व्यथा लागे ठिकै छ नत्र माघमा अस्पताल जाउला भनेर सासु ससुराले जान नदिएको कुरा सुनियाे । पुष २७ गते घाँस गएर फोन गर्दा सोही कुरा हामीलाई बताएको र हामीले बरु हामी लिन आउँछौ की तुरुन्त तँ आफै आइजा भन्दा परिवारले जे भन्छ त्यही गर्ने बताइ । माघमा लिम्सा अस्पतालमा जाँदा ३ दिनसम्म डाक्टरले सुत्केरी गराउन नसकेपछि रुकुमको चौरजाहरी अस्पतालमा रिफर गरेको थियाे । माघ ७ गते बारेकोटबाट हिडेरै चौरजाहरी पुगे । चौरजाहरी म आफै गएको थिए । त्यस्तै ७ गतेको दिउँसोतिर अस्पताल पुगेर रातीसम्म पनि सुत्केरी नहुँदा डाक्टरले काठमाडौं लिन सल्लाह दिए । तर विहान ७ बजे पाठेघर भित्र कुहिएको, शरीर पुरै निलो भएको र छाला समेत उत्रिएको बच्चा निकालेर बहिनीलाई बचाउन सफल भयाैं ।

त्यसपछि २०७५ सालको असार महिनामा घरबाट भागेर माइत आई र पुष महिनासम्म माइतीमै बसी । पुसको महिना उसको श्रीमान लिन आयो । मलाई फोन गरेर श्रीमान लिन आएको कुरा बताई मैलै अघि नै बहिनीलाई भनी सकेको थिए की त्यो घरमा फर्केर जानु हुन्न । दुःख, सुख माइतमा गरेर बस तिम्रो श्रीमानलाई अहिले जानु पछि दाइ र म आउँछु भन्नु भनेको थिए तर …..त्यसो भएन बहिनी आफ्नो श्रीमानसँगै गई ।

यसका साथै २०७७ साल बैशाख २५ गते दिनको १२ बजेतिर भाउजूको मोबाईलमा कान्छी बहिनीको मिस कल आयो । मैले नै फोन उठाए र कुरा गरें के छ कहाँ छइ भन्दा म बीरा छु गाईलाई घाँस की यस्तै काममा । झण्डै ५ मिनेट कुराकानी भयो मसँग यसरी उनले कुरा गरिन् ।
‘दाइ म फेरी बच्चा जन्माउने छु । ५ महिना भयो । दुईदुई ओटा बच्चा त खेर गए गए । यो बच्चा खेर नजाओस् भन्ने चाहान्छु । घरमा सधैं तेरा मामाले देउता लगाएका छन् त्यही भएर बच्चा बाँच्दैनन् भन्छन् । तपाइँ जसरी भएपनि आएर यति कुरा मामासँग गरिदिनुहोला । अनि खाली घरमा तो त बिना माइतीकी छोरी रहिछई । राम्री भए पो माइतीले वास्ता गर्छन् । तोलाई केही भयो भने पनि तेरा माइती आउनेवाला छैनन्। दुनियाँका माइतिले बहिनीलाई पैसा पठाउँछन् । तेरा दुईदुई भाइ जागिर खान्छन् भन्छेई । खै त तोलाई के ब्यहोरेका छन् भन्छन् दाई एकपठक हजुर जसरी पनि आएर मामा र घरपरिवारलाई सम्झाईदिनु होला । दाई जसरी पनि आउनु होला ।’

यताबाट मैले ‘अहिले लकडाउन छ यो खुल्यो भने म आउँला । तँलाई साह्रै अप्ठयारो पारेका छन् भने गाउँमा खासै लकडाउन छैन् । यता माइतीमा आइजा बाँकी पछि जे हुन्छ त्यहीँ गरौंला ।’ यती कुरा हुँदाहुँदै फोन कट्यो । त्यसपछि बारम्बार कोसिस गर्दा पनि सम्पर्क हुन सकेन भनिरहयो हामीले कोसिस गरिरहयौं । उनी भन्थिन् ‘दाइ तपाईहरुसँग फोन गर्दा घरपरिवारसँगै भएँ भने लाउड स्पिकर गर भन्छन् तपाइँहरु नराम्रो नबोल्नुहोला । म एक्लै भएको बेला कुरा गरौंला ।’ बहिनीलाई कतिसम्मकाे यातना र पीडा दिइएकाे थियाे भन्ने कुरा यही वाक्यांसबाट पनि बुझ्न सकिन्छ । बहिनीले फोनमा यसो भन्नु । विरामी हुँदा हामीलाई कुनै पनि जानकारी नदिनु । उनकाे प्राण गएपछि तिम्रो बहिनी सधैंका लागि नबोल्ने भई भनेर जानकारी गराउनु लगायतका शंकास्पद गतिविधिहरु हुन् । यहाँ उल्लेख भएका बाहेकका कुराहरु पनि छन् ती सबै हामीसँग फोनमा कुरा गर्दा भएका हुन र टेलिकमबाट फोन रेर्कड मगाए सबै थाहा हुने नै छ ।

आज सदाका लागि सम्पर्क नहुने गरी बहिनी अस्ताएको खबर आयो । विस्तारै सबै ठिक हुन्छ भनेर बसियो त्यही नै आज अभिसाप बन्यो । रुढीवादी संस्कारमा जेलिएका विकट/दुर्गम वस्तीहरुमा समयमा नै उपचार नपाएर मेरो जस्तै कयौं बहिनीहरुले कहिलेसम्म खाउँखाउँ, लाउँलाउँ भन्ने उमेरमा नै स्वर्गको बाटो तय गर्नु पर्ने हो ? यस्ता घरेलु हिंसाबाट कति पीडित हुनु पर्ने हो यसको उत्तर भने मसँग छैन ।

मनले नमान्दा नमान्दै र नचाहँदा नचाहँदै आज दिउँसो जब फेसबुकमा बहिनीको श्रद्धाञ्जलीको स्टाटस लेखें त्यसको तल साथीहरुबाट आएका सहानुभूतीका शब्दले गहँभरि आँशु भए, गला अवरुद्ध भयो र केहीबेर बोल्नै सकिन सायद प्रत्येक कमेन्टमा एक थोपा आशुँ अवश्य झर्यो होला । कति जनाले फोन गर्नु भयो कतिसँग बोल्न सके त कतिसँग बोली नै फुटेन । यो दुःखद घडीमा विभिन्न माध्यामबाट साहानुभूति प्रकट गर्नुहुने सबैप्रति आभारी छु ।

उल्लेखित घटनाक्रमका आधारमा कालले नै बहिनीलाई बोलाए पनि, कालगतिले मरेपनि मेरो मनले यसलाई सहर्ष स्वीकारर्न र मान्न तयार भएन त्यसकारण कानूनी बाटो रोज्ने निर्णय गरेको छु । यसमा यहाँहरुको सकरात्मक सल्ला सुझावको अपेक्षा गर्दछु । घटना स्थलको प्रहरी मुचुल्का गरियोस्, लासको पोष्टमार्टम गरियोस् र यस सम्बन्धमा सत्य तथ्य छानबीन गर्न माग गर्दछु । सराेकारवाला निकाय र स्थानीय प्रशासनले सत्यतथ्यकाे खाेज अनुसन्धान गरिदिन विनम्र अनुराेध गर्दछु । अन्तमा मेरो स्वर्गीय बहिनी जेनिशा नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै यो जन्ममा तिम्रो आमा बन्ने सपना पूरा नभए पनि अर्को जन्ममा पूरा होस् भन्ने कामना गर्दछु ।

सम्बन्धित खवर

Back to top button