संक्रमित ६ वर्षीया बालिकाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई संक्रमण

काठमाडौं, ३ जेठ : तीनदिन अघि कपिलवस्तुकी संक्रमित ६ वर्षीया बालिकाको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीलाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो ।

ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ। तर शिक्षण अस्पतालले भने याे सूचनालाई सार्वजनिक गर्न चाहेकाे छैन् । अस्पतालले अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई कोरोना भएको भन्‍ने पुष्टि गरिएको छैन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ ८:१५ बजे सार्वजनिक गरेको ९ जना संक्रमितको विवरणमा दाङको तुलसीपुर उपमहानरपालिका-७, निवासी पुरुषलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो।

त्यसपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आफ्नो क्षेत्रबासी भनेर सार्वजनिक गरिएको विवरणका व्यक्ति काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको जनाएका थिए । स्थायी ठेगाना तुलसीपुर-७ उल्लेख भए पनि उनी शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत रहेको खुलेको हो ।

कपिलवस्तुबाट आएकी बालिकालाई कोरोना देखिएपछि शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो । जसमध्ये बालिकाको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । यसअघि शिक्षण अस्पतालकै न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकमा बिहीबार कोरोना संक्रमण भेटिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती बिरामी बालिकासँगै स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको हो । बालिकामा कोरोना देखिएपछि उनको उपचारमा संलग्‍न र सम्पर्कमा पुगेका शिक्षण अस्पतालका ५० भन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारीलाई क्‍वारेन्टीनमा राखिएको छ । क्‍वारेन्टीनमा राखिएकैमध्ये परीक्षण क्रममा एकजनालाई कोरोना देखिएको हो । शिक्षण अस्पतालबाट ७० जनाभन्दा धेरैको नमूना संकलन गरिएको थियो।

सम्बन्धित खवर

Back to top button