श्वासप्रश्वासमा समस्या देखिएकी सुत्केरीको मृत्यु, पीसीआर रिपाेर्ट आउन बाँकी


काठमाडौं, ३ जेठ : काभ्रेकाे धुलिखेल अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएकी सुत्केरीको मृत्यु भएकाे छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको बिहीबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकाे हाे । उनकाे मृत्युपछि काेराेनाकाे लक्षण समेत हुन सक्ने भन्दै अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।



ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।