एम्बुलेन्स कालीगण्डकीमा खस्दा चालक बेपत्ता

म्याग्दी, ४ जेठ : बेनी–जोमसोम सडक अन्तर्गत कालीगण्डकीमा एम्बुलेन्स खस्दा चालक बेपत्ता भएका छन् । म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दु’र्घटना हुँदा चालक बेपत्ता भएका हुन् ।

लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको थासाङ गाउपालिका–४ का सुजन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिरामी लिन बेनी जाँदै गरेको एम्बुलेन्समा चालक मात्र भएको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । दुर्घटना भएको ठाउँको नदी किनारमा फुटेका सिसा भेटिएका छन् । एम्बुलेन्सको पुरै भाग नदीभित्र डुबेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रनाउ कुँवर लगायतका सुरक्षा अधिकारीले दुर्घटना स्थलको निरीक्षण गरेर बेपत्ता चालकको खोजीमा शसस्त्र प्रहरीको गोटाखोर बोलाउने तयारी गरेको जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button