पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण गर्न पाइने
काठमाडौं, ६ जेठ : नेपालमा अबदेखि पैसा तिरेर स्वेच्छिक रुपमा काेराेना परीक्षण गर्न सकिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको हाे ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेच्छिक रुपमा आरडीटी/पीसीआर गर्न पाउनेछन् ।
यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।
अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।
‘सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ’, उनले भने, ‘तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।’ अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।