प्रदेश सरकारले पूर्व तयारी गर्न सकेन, कोरोना संक्रमित बढे व्यवस्थापनमा समस्या हुने

धनगढी, ११ जेठ : कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा आरडिटी परीक्षणमा पोजेटिभ देखाएकाहरुले नै आईसोलेसन वार्डका शैयाहरु भरिभराउ भएपछि शुक्रबार कोरोना पुष्टि भएका पाँच जनालाई सम्बन्धीत ठाउँमै व्यवस्थापन गरेर राखिएको छ। कैलालीका तीन, बैतडी र डडेल्धुराका एक/एक गरी पाँच जनालाई शुक्रबार नै सम्बन्धीत क्षेत्रका अस्पतालमै राखिएको छ।

उनीहरुलाई राखिएका अस्पतालहरुमा आईसियु र भेन्टिलेटर सेवाको उपलब्धता नभएका कारण अवस्था जटिल भए फेरी सेती प्रादेशिक अस्पताल नै ल्याउनुपर्ने देखिएको छ। यद्यपी अहिले सम्म उनीहरुको अवस्था समान्य नै छ। प्रदेशमा यसैगरी कोरोनाका संक्रमित र सम्भावित विरामी थपिदै गए व्यवस्थापनमा थप जटिलता हुनेछ।

१६ शैयाको आईसोलेसन वार्ड रहेको महाकाली अस्पतालमा त एउटै भवनमुनी सबै खालका सेवा सञ्चालन गरिदा जोखिमको चिन्ता गरिएको छ। महाकाली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले कोभिडका संक्रमित एवंम सम्भावित विरामीलाई पनि एउटै भवनमा राख्नुपर्ने स्थितीले जोखिम बढेको बताए।

प्रदेश सरकारले महाकाली अस्पतालमा प्रि–फ्याब भवन सहितको ५० शैयाको आईसोलेसन वार्ड निर्माणका लागि एक करोड बजेट दिएको थियो। जेठ ७ भित्र निर्माण सक्नेगरी सम्झौता भएपनि अहिले सम्म काम अधुरै रहेको छ। लकडाउनले निर्माण समाग्रीको ढुवानीमा समस्या भएकाले निर्धारित समयमै काम सम्पन्न गर्न नसकेको भन्दै निर्माण व्यवसायी पन्छीने गरेका छन्।

अस्पतालका अनुसार आईसोलेसन वार्ड सहितको भवनका लागि थप १० दिन कुर्नुपर्ने देखिएको छ। मेसु श्रेष्ठका अनुसार निर्माण व्यवसायीले निर्माण समाग्रीको अभावको कारण देखाउँदै निर्धारित समयमा काम सम्पन्न नगरेका हुन्। उनका अनुसार अबको १०/१५ दिन भित्र निर्माण सकेर हस्तान्तरण गर्ने आश्वासन दिएका छन् तर निश्चित भने छैन्।

यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सेती प्रादेशिक अस्पताल मातहत रहने गरी धनगढीमा निर्माण भईरहेको प्रि–फ्याव भवन सहित ५० शैयाको आईसोलेसन वार्डको काम सम्पन्न भईसकेको दावी गरिरहेको छ। भवनमा अन्य पूर्वाधारको समेत व्यवस्थापन भईसकेकाले सम्भावित एवंम् संक्रमित बढेमा त्यतै राखेर उपचार गर्न सकिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

प्रदेशमा यदी कोरोना भाईरसका संक्रमितको संख्या बृद्धि हुदै गए अहिले उपलब्ध पूर्वाधारले थेग्न नसक्ने अवस्था आउने निश्चित छ। तर प्रदेश सरकार लगायतका निकायले सुदूरपश्चिममा कोरोना संक्रमण देखिएको र लकडाउन जारी भएको दुई महिना सम्म जोखिम आकलन गरी सोही अनुसारका तयारी गर्न सकेका छैनन्।

अहिले आएर संक्रमितहरुलाई तत्काल सम्बन्धीत जिल्लाहरुमै व्यवस्थापन गर्ने र अवस्था जटिल बनिहाले संघिय सरकारको मुख ताकेर बस्ने विकल्पमा सुदूरपश्चिम सरकार देखिएको छ। मन्त्रालयका प्रवक्ता कार्कीले सबैलाई एउटै स्थानमा राख्दा ठाउँ अभाव हुन सक्ने भएकाले संक्रमितलाई तत्काल सम्बन्धीत क्षेत्रका अस्पतालमा राखिएको बताए।

उनले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामै रहेपनि प्रदेशमा संक्रमितको संख्या बृद्धि भएको खण्डमा संघिय सरकारबाट जनशक्ति लगायत अन्य स्रोत साधनको व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेर पठाईसकेको स्थिती रहेको बताए। स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार सुदूरपश्चिमभरी संक्रमितको उपचार हुने अस्पताल सेती मात्रै हो।

तर अहिले सुदूरपश्चिमका चार अस्पतालमा संक्रमितको उपचार भईरहेको छ। सबै अस्पतालमा संक्रमितलाई पनि राख्दा अन्य बिरामीलाई पनि जोखिम बढ्ने खतरा छ।

सम्बन्धित खवर

Back to top button