दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि


दाङ, १० असारः दाङमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जानकारी गरेको छ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ बाट संकलन गरिएको ८४ जनाको स्वाब मध्य ४९ जनाको परिक्षण गरिएको र ति मध्य ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरुको उमेर ५ देखी ४४ बर्ष उमेर समुहका रहेका छन् । ती मध्य ३ जना महिला रहेका छन भने ३९ जना पुरुष रहेका छन्।



यसैगरी घोराही उपमहानगरको वडा नम्बर १ का २५ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ४ जना र वडा नम्बर १५ का एक जना गरि ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। तीमध्ये तीन जना महिला रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ।
यसैगरी, देउखुरीको राप्ती आइसोलेशनमा भर्ना भएका ९ जना संक्रमितहरुको पुनः स्वाब जाँच गर्दा ८ जनामा कोरोना पोजेटिभ नै देखिएको प्रतिष्ठानले बताएको छ।
यसैविच प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा प्युठानका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्युठान मल्लरानी गाउँपालिका र झिम्रुक गाउँपालिकाबाट संकलन गरिएको १४ जनाको स्वाब मध्य १० जनाको परिक्षण गर्दा मल्लरानी १ का १९ वर्षीय एक पुरुष, वडा नम्बर ३ का २४ र २५ बर्षका दुई पुरुष र झिम्रुक १ का १७ बर्षिय एक पुरुष गरि ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
प्युठानकै माण्डवी गाउँपालिकाबाट स्वाब संकलन गरिएका १३ जना मध्य १० जनाको परिक्षण गर्दा ६ जना पुरुषमा कोरोना देखिएको छ । जस्मा माण्डवी २ का १८, १८ र २१ वर्षका ३ जना, वडा नम्बर ४ का २१ र २४ बर्षका दुई जना र वडा नम्बर ७ का २६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले बताएको छ।
प्रतिष्ठानले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, दंगिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका, झिम्रुक गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, माण्डबी गाउँपालिका, कपिलबस्तु लगाएतका क्षेत्रबाट संकलन गरिएको ७ सय ५९ जनाको स्वाब परिक्षण गर्दा ९४ जनामा कोरोना देखिएको हो। प्रतिष्ठानमा अझै २ हजार ५ सय ५३ जनाको स्वाब परिक्षण हुन बाँकी छ।








