सर्वोच्चले रञ्जनको कैद घटाउने फैसला पुनरावलोकन गर्ने


काठमाडौं, ११ साउनः सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ।
महान्यायाधीवक्ताको कार्यालयले बिहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो। उक्त निवेदनमा सुनुवाई गर्दे न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको फैसला पुनरावलोकन गर्न अनुमति दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।



सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उनको कैद सजाय घटाउने फैसला गरेको थियो।








