शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा मनाउन सुझाव

काठमाण्डौ, १९ साउनः शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा पर्व मनाउन संस्कृतिवदले सुझाव दिएका छन् । संस्कृति जोगाउन शास्त्रको नियम र कोरोनाबाट जोगिनका लागि सरकारको नियम पालना गरेर जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद डा. चिन्तामणि योगीले सुझाव दिएका छन् । गएका वर्षहरुमा जस्तै गरी यो वर्ष जनैपूर्णिमा मनाउँदा कोरोना सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै दुबै नियम पालना गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकार र विश्व स्वास्थ्य सङ्गठनले भनेजस्तै सावधानीका उपाय अपनाएर चाडपर्व मनाउन उहाँले आग्रह गर्नुभएको छ । धर्म र संस्कृतिको नाममा मन्दिर, घर वा सार्वजनिक ठाउँमा भिडभाड गर्दा कोरोना सङ्क्रमण भयावह बन्न सक्ने भन्दै डाक्टरहरुले सचेत गराउँदै आएका छन् ।

त्यसैले जनै मन्तर्ने ठाउँदेखि पण्डित र डोरो वा रक्षासूत्र बाँध्ने व्यक्ति वा परिवारले सावधानी अपनाउन अपनाउन संस्कृतिविद योगीले आग्रह गरेका छन् । कोरोनाबाट जोगिनका लागि जनै मन्तर्ने लैजाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उहाँ बताउछन् ।

अहिलेको समय एकदमै होसियारीपूर्वक काम गर्नुपर्ने र चाडपर्व मनाउनुपर्ने समय भएकाले सकेसम्म आफ्नो-आफ्नो घरमा जनै मन्तर्न उनले सुझाव दिए । यस्तै रक्षा बन्धन बाँध्ने पण्डित वा पुरोहितहरुले हातमा डोरो वा रक्षासूत्र बाँध्नुको सट्टा अलग्गै दिएर व्यक्ति आफैँले बाँध्दा कारोना सङ्क्रमणको जोखिम पनि कम हुने र संस्कृतिको पनि संरक्षण हुने उनी बताउँछन् ।

संस्कृतिविद योगी भन्छन्, ‘जसरी सामान किन्दा अलग्गै पैसा राखेर अलग्गै सामान लिने परिपाटी पछिल्लो समय बन्दै गएको छ । त्यही परिपाटीअनुसार नै रक्षाबन्धन बाँध्न सकिन्छ । सबैको हात-हातमा बाँध्दै हिँड्नुभन्दा अलग्गै राखिदिने गर्नुपर्छ । आफूले आफैँलाई बाँध्दा राम्रो हुन्छ । यस्तै मास्क लगाउने, साबुन पानीले मिचिमिची हात धुने कुरा पनि उत्तिक्कै महत्वपूर्ण छ । ‘

आफू कसरी सङ्क्रमणबाट बच्न सक्छु भनेर त्यहीअनुसारको सावधानी अपनाउँदै पर्व मनाउन सक्नु महत्वपूर्ण कुरा भएको उनको भनाइ छ । यस्तै यो वर्ष भोजभतेर नगर्न उनी आग्रह गर्छन् । परिवारका सदस्य मात्रै बसेर सामान्य तरिकाले मनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ ।

यस्तै आज साउनको सोमबार पनि परेकाले घरमै बसेर पूजा ध्यान गर्न पनि उनले आग्रह गरेका छन् । आफन्तसँग भेटेरभन्दा पनि फोनबाट, सामाजिक सञ्जालको प्रयोगबाट कुराकानी र शुभकामना आदानप्रदान गरेर जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविदकाे सुझाव छ ।

सम्बन्धित खवर

Back to top button