उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित

काठमाडौं, १० भाद्रः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन् । योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ४ हजार १९ पुगेको छ । जसमध्ये भक्तपुरमा ३ सय २४, ललितपुरमा ५ सय १० र काठमाडौंमा ३१ सय ८५ रहेको छ ।

बुधबार मात्रै ८ सय ८५ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ परीक्षण गरिएको छ । योसँगै देशभर अहिलेसम्म ६ लाख ३५ हजार २ सय ५२ पीसीआर परीक्षण गरिएको छ ।

आज ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२, प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ जना रहेका छन् । योसँगै देशभर अहिलेसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित खवर

Back to top button