झापामा बन्यो ७५ शैय्याको कोभिड अस्थायी अस्पताल

झापा, १५ भदाैः दिनहुँ कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापाको भद्रपुरमा अस्थायी कोभिड अस्पताल तयार भएको छ । मेची अस्पताल भद्रपुरको नयाँ भवनमा अस्थायी कोभिड अस्पताल तयार भएको मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।

अहिलेसम्म कोरोना भाइरसका संक्रमित तथा अन्य विरामीलाई एउटै भवनमा राखेर उपचार गरिँदै आइएको थियो । एउटै भवनमा सबै प्रकारका बिरामीलाई उपचार गरेकाले सर्वसाधारणले कोभिडका बिरामीका लागि छुट्टै भवनमा उपचार गराउन माग गर्दै आएका थिए ।

कोरोना भाइरस संक्रमितका लागि मेची अस्पतालले यस अघि २२ शैय्याको आइसोलेसन वार्ड सञ्चालन गर्दै आएको थियो । तर संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामै कोभिड अस्पतालको माग बढ्दै आएको थियो ।

मेची अस्पतालको अस्थायी कोभिड अस्पतालमा ७५ शैय्या रहनेछन् । पुरानो आइसोलेसन वार्डका विरामीलाई पनि नयाँ अस्थायी अस्पतालमा सारिने भएको छ ।

झापामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सय ८० पुगेको छ। ४ सय २७ जना संक्रमण निको भएर फर्केका छन् । हाल १ सय ५१ जना उपचाररत छन्। कोरोना भाइरसको संक्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर

Back to top button