सरुवा रोग विशेषज्ञ डा. पुनको सुझाव : भारतले नखोलेसम्म नेपालमा लकडाउन खोल्नु हुँदैन

काठमाडाैं, २८ चैत्र : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा.  शेरबहादुर पुन विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)का बारेमा बढी जानकारी नेपाली चिकित्सक हुन् । चीनको वुहानमा यो भाइरसको उत्पत्ति भएसँगै उनले यसबारेमा लेख प्रकाशन गरेका थिए ।

नेपालमा पनि कोरोना भाइरस फैलिएसँगै उनको व्यस्तता बढ्दो छ । डा. पुन विरामीको उपचारमा त छन् नै उनले आममानिसका लागि जनचेतना फैलाइरहेका छन् । दिनहुँजसो उनी नेपाली सञ्चार माध्यम मार्फत आमनागरिकका कोरोना भाइरस बारेका जिज्ञासामा जवाफ दिइरहेका छन् ।

कोरोना भाइरसको उत्पत्तिदेखि यसले विश्वव्यापी पुर्याइरहेको असरलाई नजिकबाट नियालिरहेका पुनलाई सुरुवातका दिनमा यो भाइरसले यो रुप लेला भन्ने लागेको थिएन । ‘कोरोनाको दुर्भाग्यपूर्ण दृष्य देख्न, सुन्न परेको छ, जुन म आफैले पहिलोपटक यसबारेमा लेख लेख्दै गर्दा यो अवस्था आउँछ भन्ने सोंचेको थिएन’, डा.  पुनले नागरिकखबरलाई सुनाए ।

कोरोना भाइरस कहिलेसम्म नियन्त्रण हुन्छ ?डा.  पुन भन्छन्, ‘लामो जाँदैन । तर, अझै दुईरतीन हप्ता नहेरी भन्न सकिन्न ।’

हुल बाँधेर राहत वितरण गर्नुलाई के भन्ने ? डा.  पुन भन्छन्, ‘यो त लकडाउन विपरित छ ।’

स्वास्थ्यकर्मीलाई किन चाहिन्छ पीपीई  ?डा.  पुन भन्छन्, ‘स्वास्थ्यकर्मीलाई कोरोना सर्यो भने अरुलाई पनि सार्ने बढी खतरा हुन्छ रु’

र, कोरोना नेपालमा दोस्रो चरणमै रोकिएला त ? डा. पुन भन्छन्, ‘रोक्न सक्छौं । तर, अझै बढी मेहनत चाहिन्छ ।’

सरुवा रोग विशेषज्ञ डा.  पुनको आलेख यसरी प्रस्तुत् गरिएको छ ।

डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

यो कोरोना भाइरहको नाम निश्चित नहुँदादेखि नै फ्लो गर्दै आएको छु । सार्सजस्तै भाइरस चीनमा देखियो । यसमा नेपालमा कस्तो असर पार्न सक्ला भन्ने बारेमा लेख पनि लेखेको थिएँ । त्यसयता यसको नाम कोभिड–१९ भएको छ ।

कोरोनाको दुर्भाग्यपूर्ण दृष्य देख्न, सुन्न परेको छ, जुन म आफैले पहिलोपटक यस बारेमा लेख लेख्दै गर्दा यो अवस्था आउँछ भन्ने सोंचेको थिएन । आज यस्तो भयावह अवस्था भयो की कोरोना भाइरसको नाम सुन्ने बित्तिकै पनि त्रसित हुने, डराउने, एकले अर्कालाई शंकालु नजरले हेर्ने अवस्था आएको छ ।

पछिल्लो अवस्थाअनुसार अमेरिकामा गहिरो प्रभाव पारेको छ । छिमकी देश भारतमा पनि संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दो छ । नेपालमा केही समय अघिसम्म आयातित संक्रमित मात्रै देखिने क्रम भएकोमा स्थानीयस्तरमै संक्रमण फैलिएको छ । जसलाई हामीले दोस्रो चरण भनेका छौं । यो अवस्था भनेको हामीले थप मेहनत गर्नुपर्ने र रणनीति बदलिएर परीक्षणको दायरालाई बढाउने हो । र, नागरिक आफै पनि थप सचेत, सजग र सतर्क रहनुपर्छ भन्ने अवस्थामा आइपुगेका छौं ।

परीक्षण पर्याप्त छैन, बढाउनुपर्छ

यो पूर्ण छैन भन्ने सबैलाई थाहा छ । रणनीति पनि बदलिदै जान्छ । जोखिमको स्तरलाई हेर्दै बदल्दै जाने हो । यो भन्दा अगाडि कोरोनाको आयातित केस खोज्दै जाने र त्यो अनुसार उपचार गर्दै जाने अवस्था थियो । अहिले दोस्रो चरणमा गइसकेपछि यो रणनीति पनि बदल्ने र त्यही अनुसार जाने हो । नयाँ रणनीति परीक्षणको दायरा बढाउने हो । नयाँ रणनीतिबारे निर्णय हुँदै गइरहेका छन्, ती सबै ढिलो नगरी कर्यान्वयन पक्ष बलियो बनाउनुपर्छ ।

दोस्रो चरण दुर्घटना होइन, यसैमा रोक्न सक्छौं

हामी महामारीको दोस्रो चरणमा पुग्यौं । दोस्रो चरणमा पुग्दैमा ठूलो दुर्घटना नै भइसक्यो भन्ने होइन । यो चरणमा मेहनत गर्यौं भने यही चरणमा रोक्न सक्ने अवस्था छ । तर यसका लागि सम्बन्धित निकायसँगै अझ बढी इमान्दारिता हामी आफै ९संक्रमित र संकास्पद० ले देखाउनुपर्छ । दोस्रो चरणमा जानु महामारी फैलिएको मुलुकबाट आएका व्यक्ति आफ्नो ठाउँमा नबसेर घुम्दाको नतिजा हो । सरकारले त क्वारेन्टाइनमा राख्न खोजेकै थियो ।

कुनै पनि देश महामारीविरुद्ध पूर्ण रुपमा तयार हुँदैन । अमेरिका, इटली, बेलायत, फ्रान्सकको कुरा गरौं । यी सबै धनी देश हुन् । यी देशलाई पनि गाह्रो हुने अवस्थामा नेपाललाई त गाह्रो हुने नै थियो ।

यो हाम्रो छिमेकी देश भारतमा कोरोनाको केस बढिरहेकाले हामीले बढी सतर्कता अपनाउनु पर्नेछ । यद्यपी अहिलेसम्म बनाएको योजनामा थप नयाँ योजना बनाएर जाँदा हामीले नेपालमा कोरोना भाइरसलाई दोस्रो चरणमै नियन्त्रण गर्न सक्छौं ।

लकडाउनमा साँझपख मानिस हिंडिरहेका छन्, रोक्नुपर्छ

कोरोना भाइरसको महामारी दोस्रो चरणमै रोक्न परीक्षणको दायरा बढाउनुको साथै अन्य विषयमा कडाइ गर्नुपर्छ । लकडाउनको कुरा त गर्छौं अहिले पनि साँझ परेपछि हिंडेको देखिन्छ । त्यसलाई कसरी व्यवस्थित गर्ने रु कसले गर्ने रु सम्बन्धित निकायले भूमिका खेल्नुपर्छ । संक्रमण फैलियो भने तपाईं हामी आफै प्रभावित हुने हो ।

दोस्रो चरणमा आएकोलाई तेस्रो चरणमा जान नदिन विभिन्न उपाय अवलम्बन गरिएको छ । स्थानीय स्तरमा संक्रमण फैलिएको देखिएपछि त्यस क्षेत्रका मानिस जो हुनुहुन्छ, उहाँहरु अलिकति लक्षण देखियो भने स्वास्थ्य परामर्श लिने, यदि कसैलाई रुखाखोकी लाग्यो भने छुट्टै क्वारेन्टाइनमा बस्ने, स्वास्थ्यकर्मीको परामर्श लिने गर्नुपर्छ ।

केन्द्रीय प्रयोगशालाबाट प्रमाणित नभएसम्म परीक्षण रिपोर्ट सार्वजनिक गर्नु हुन्न

पोखरामा पोजिटिभ आएको काठमाडौंमा परीक्षण गर्दा नेगेटिभ किन आयो भने जिज्ञासा पनि छन् । इरर कहिले काँही नआउने होइन । प्रयोगशालामा जो प्राविधिक हुनुहुन्छ, उहाँहरुले त्यसलाई दोहोर्याएर गर्नुपर्छ । मैले यो केसमा हतार भएको देख्छु । विश्वमै जुन परीक्षण भइरहेको छ, मैले पनि पिसीआरमा काम गरेको छु, त्यहाँ कहिले काँही इरर आउँछ । त्यो नआओस् भन्नका लागि तालिम प्राप्त प्राविधिक हुन्छ । उहाँहरुले अलिकति ध्यान दिएर दोहोर्याएर हेर्नुपर्छ । केन्द्रीय प्रयोगशालामा आएर प्रमाणित भइसकेपछि मात्र नतिजा सार्वजनिक गर्न पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई ।

पहिलो चरणमा परीक्षण अझै बढाएको भए राम्रो हुन्थ्यो

जतिसक्यो धेरै गर्न पाए राम्रो । तर, दोस्रो चरण भनेको लोकल ट्रन्समिसन भन्छौं । जुन ठाउँमा यो धेरै फैलने खतरा छ, त्यो समुदायमै गएर केश खोज्नका लागि प्रयोगशालाको सहयोग लिनैपर्ने हुन्छ । त्यो ठाउँमा गएर परीक्षण बढाएर केस छ या छैन भन्ने निक्र्यौल गर्न पायो भने राम्रो हुन्छ । किनभने हरेक चरणको कुरा गर्यौं, पहिलो चरणमा आयातितमा हुन सक्छ भन्यौं, त्यसमा चेक गर्यौं । आयातितमा लक्षण देखिएमात्रै चेक गर्ने भन्ने सिमितता थियो । त्यो सिमितता दायरा त्यो बेलै बढाएको भए कतिपय केस अगाडि पत्तालगाउन सजिलो हुन्थ्यो । उहाँहरुको नजिकमा भएको व्यक्तिमा पनि परीक्षण बढाएको भए त्यसरी गर्दा राम्रो हुन्थ्यो ।

दोस्रो चरणमा स्थानीयस्तरमा देखिएपछि जुन एरिया छानिएको छ, त्यहाँ ठूलोस्तरमा प्रयोगशाला र र्यापिट टेस्ट पनि बढाउनुपर्छ । बढाइयो भने अलिकति क्लियर हुन आउँछ । त्यसको फाइदा आगामी दिनमा त्यो क्षेत्रमा कस्तो खालको रणनीति बनाएर जाने भन्ने योजना बनाउन सजिलो हुन्छ ।

स्वास्थ्यकर्मी संक्रमित भए अरुलाई पनि सार्ने खतरा हुन्छ, त्यसकारण पीपीइ चाहिन्छ

अरु देशमा हेर्दा पनि पीपीइको अभाव देखिन्छ । महामारी अचानक आउने हो । चिकित्सक स्वास्थ्यकर्मी र उपचार गर्ने ठाउँ पनि अत्यधिक चाहिने भएकोले महामारीका बेला व्यवस्थापन गर्न गाह्रो हुन्छ । नेपालमा चिकित्सकको माग छ पीपीइ चाहियो भन्ने । जो सबै भन्दा पहिलो हाम्रो आवश्यक चिज हो । किनभने लडाइमा सिपाही जाँदा विनाहतियार गयो भने मर्छ भनै भने जस्तो चिकित्सक, एचए, नर्स, अनमीलगायतका स्वास्थ्य कर्मी जो बढी यो कोरोनाको उपचारमा प्रत्यक्ष रुपमा सहभागी हुन्छन्, उनीहरुलाई पनि पीपीइ त्यस्तै हो । यस सम्बन्धी मैले प्राटोकल पनि हेरको थिएँ, कोभिडको विरामीको उपचार र उच्च शंकागरिएकाको परीक्षणमा लगाउने भन्नेछ । सरसरर्ती हेर्दा यो राम्रो देखिन्छ, जो पायो त्यहीले लगाउने होइन भन्ने छ ।

तर,

नेपालको स्थिति, भारतबाट त्यत्रो संख्यामा मानिस नेपाल फर्किएको र उनीहरुमध्येमा कोरोना देखिने जुन स्थिति छ, यसले केहीं गम्भीर बनाएको छ । भारतबाट फर्किएकामध्ये यसलाई र त्यसलाई भन्ने अवस्था छैन । कोरोना लागे पनि नलागे पनि विरामी भएमा उनीहरु सबैभन्दा पहिले क्लिनिकमा जान्छन् वा अस्पतालमा जान्छन् ।

यदि कोरोना छ र त्यहाँ जाँदा पीपीइ नलगाएको स्वास्थ्यकर्मीले हेर्यो भने त्यो स्वास्थ्यकर्मीलाई पनि सर्छ । यो व्यवाहारिक स्थिति हो । जस्तो की भारतबाट आएर नदि तरेर आएकामा कोरोना देखियो र उनलाई नियन्त्रण गर्ने सशस्त्र प्रहरी पनि क्वारेन्टाइनमा बस्नुपरेको छ ।
यदि चिकित्सक संक्रमित भए जो कोही विरामी त्यहाँ पुग्दा झनै फैलने खतरा हुन्छ ।

हुल बाँधेर राहत बाँड्नु लकडाउन विपरित

अहिले राहत वितरण गर्ने क्रम चलिरहेको छ । कुनै कुनै ठाउँमा एक मिटरको दूरी राखेर वितरण गरेको पनि देखेको छु । त्यो राम्रो हो । तर कतै हुल बनाएर राहत वितरण गरिरहेको तस्बिर पनि आइरहेका छन् । राहतको लागि हुलबाँधेर जानु लकडाउनको विपरित हो । त्यस्तोका लागि वितरकहरु थोरै संख्यामा जाने हो । धेरै हुल बाँधेर राहत बाँड्ने त्यो ठीक होइन ।

भारतले नखोल्दासम्म नेपालमा लकडाउन खोल्नु हुँदैन

अहिले सबैभन्दा राम्रो नेपाल र भारत दुवै देशमा लकडाउन छ । यसको सैद्धान्तिक अर्थ भनेको मानिसको आवात जावतमा रोक लगाउने हो । हामीले भारतमा देखिरहेको घटनाहरुलाई हेर्नैपर्ने हुन्छ । भारतले लकडाउनलाई नखोल्दासम्म हामीले खोल्नु उपयुक्र्त हुँदैन । एकतर्फ खोल्यो भने मानिसहरुको फ्लो हुने सम्भावना अत्यधिक देख्छु । भारतमा भएको घटनाक्रमले धेरै हदसम्म नेपालमा प्रभाव पार्छ ।

भारतबाट आएकामा पनि कोरोना देखियो । लाखौं संख्यामा आएको भनिन्छ । हामीले भारतीय सिमानातिर विशेष चनाखो राख्नुपर्छ । यसका लागि सुरक्षाकर्मी र जनता आफैले ध्यान दिनुपर्छ । विशेष गरी स्थानीय सरकारले यसमा प्रभावकारी काम गर्न सक्छ ।

म भविष्यवक्ता त होइन, तर कोरोना लामो समय जाँदैन

म भविष्यवक्ता त होइन । तर के आधार मान्नुपर्छ भने यसअघि देखिएको सार्स भाइरस यसकै दाजु हो । यो कान्छो प्रजाति हो । यसको खास नाम सार्स कोरोना भाइरस–२ भनेर बुझ्ने हो । तर यसको नाम कोभिड १९ राखिएको छ । सार्स लगभग ७ र ८ महिना गएको देखिन्छ । कोरोना देखिएको तीनमहिना भयो । आजको मितिसम्म विशेषगरी अमेरिका, यूरोपमा तहल्का मच्चाइरहेको छ । यो अवस्थामा यो तत्काल एकरदुई हप्तामा रोकिने देखिदैन । सामान्यतया महामारी वर्षसम्म लम्बिने त होइन । यसमा हामी आफै जिम्मेवारी हुन्छौं । मान्छेले लग्ने ल्याउने हो ।

कोरोना भाइरस नयाँ होइन । कोरोना एउटा परिवार हो, जसमा सार्स, मर्स, चारवटा प्रजाति पर्छन् । यसमा पछिल्लो विकास भएको नयाँ कोरोना भाइरस हो । यो भन्दा अगाडिका चारवटाले खासै चर्चा पाएन । बीचमा २०१२ मा मर्स कोरोना भाइरसले अलि चर्चा पाएको । सार्स सन् २००२ मा चीनमा देखिएको थियो र त्यसले साढे सात सय मानिसको मृत्यु भएको देखिन्छ ।

मलाई विश्वास के छ भने कोरोना धेरै लामो नजाला । तर यसका लागि अझै होसियारका साथ आगामी दुईरतीन हप्ताको घटनाक्रम हेर्न आवश्यक छ ।

लकडाउनको पूर्ण पालना गरौं

आगामी दिनमा अझै आफै अनुशासित हुनुपर्दछ । लकडाउन भएरमात्रै हुँदैन लकडाउनका नियम पूर्ण पालना गर्नुपर्छ । यसमा मेहनत गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खवर

Back to top button