पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२८ जेठ: पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजना गरी तीनजनामा बुधबार संक्रमण पुष्टि भएको हो । नवलपुरमा बुधबार भेटिएको तीन जनासहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।

भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैंडकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए।

संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन कक्षमा उपचारका लागि लगिदै छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट १३ का २३ वर्षीय एकजना पुरुष र गैंडाकोट १४ का २६ वर्षीय एकजना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार बुधबार देवचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

देवचुली नगरपालिकामा योसहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् । त्यस्तै गैंडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button