निर्मम आक्रमणपछि सामूहिक हत्या गरेको संसदीय छानबिन समितिको निष्कर्षः चौरजहारी घटना

काठमाडौँ, ३१ असारः रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाउनुभएको हो । समितिले एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।

समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि हत्या भएको छ । अन्तरजातीय सम्बन्धको कारणबाट घटना विकसित भएको समितिको निष्कर्ष छ’’, संयोजक पौडेलले भने ।

ठूलो समूह मिलेर आक्रमण गरी नवराजसहित छ जनाको हत्या भएको निष्कर्ष समितिको छ । घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुझाव दिँदै समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । समानता र स्वतन्त्रताको हक कार्यान्वयन गर्न तथा संवैधानिक आयोग गठनको विषयलाई पनि यथाशीघ्र प्राथमिकतामा राख्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पनि सुझाव दिएको छ । आश्रित परिवारका बालबच्चालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न सुझाव दिँदै समितिले आश्रित परिवारलाई कम्तीमा १० लाख रुपियाँ क्षतिपूर्ति दिन र मृतकका नाममा स्मृति पार्क बनाउन पनि सुझाव दिएको छ ।

सम्बन्धित खवर

Back to top button