निर्मला हत्या प्रकरणमा ८ जना प्रहरीलाई सफाई


काठमाडौं, १५ साउनः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त प्रकरणमा मुछिएका प्रहरी अधिकारीलाई अदालतले सफाई दिएको छ । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । उनीहरुमाथि प्रमाण नष्ट गरेको आरोप थियो ।
जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुवै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको हो । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको आरोप थियो ।



एसपी बिष्ट यसअघि नै बर्खास्तीमा परिसकेका छन् भने बाँकी ७ जनालाई अब काममा फर्किने बाटो खुलेको छ । अदालतले सफाई दिएका कारण अब डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेट्टी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउद अब आफ्नो नियमित ड्युटीमा फर्किने भएका छन् ।








