एकै परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ४ भाद्रः पोखरा ५ मालेमाटनमा सहकारीमा काम गर्ने एक महिलालाई कोरोना संक्रमण देखियो । सहकारीमा पैसा संकलनको काम गर्ने उनलाई ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भइन् । अस्पतालका चिकित्सकले कोरोना संक्रमणको शंका गरे, स्वाब परिक्षण गर्न पठाए । दुई दिनपछि स्वाबको रिपोर्ट पोजेटिभ आयो ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारको पनि स्वाब परीक्षण गरियो । परीक्षण गर्दा ५ दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए ।

कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप २ जना संक्रमित थपिएका छन् । उनीहरू सहकारीमा काम गर्ने महिलाका देवरका छोराछोरी रहेको नेपालीले बताए ।

उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ भने यसअघि नै संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसनमा राखिएको छ।

पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ ना निको भएर घर फर्किसकेका छन्।

संक्रमित भेटिएकामध्ये अधिकांश क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

सामान्य रूघा, खोकी र ज्वरो आएका व्यक्तिलाई पनि अस्पताल भर्ना भएर स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए ।

सम्बन्धित खवर

Back to top button