कर्णालीमा थप ५१ जनामा कोरोना पुष्टि


काठमाडौँ, ८ भाद्रः कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन् ।
चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमको मुसिकोट नगरपालिकाका १५ जना र सानीभेरी गाउँपालिकाका ३ जना छन् । त्यस्तै चौरजहारीमै गरिएको परीक्षणमा जाजरकोटको भेरी नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको छ ।



सोही प्रयोगशालामा बर्दिया, डडेल्धुरा, धादिङ र उदयपुरका १–१ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, कन्चनपुर र चितवनका २–२ जनामा कोरोना पुष्टि भएको छ भने बर्दिया, सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका १–१ जनामा कोरोना पुष्टि भएको छ । योसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २९५ पुगेको छ ।








