बीपी प्रतिष्ठान धरानमा कोरोनाबाट एक महिलाको मृत्यु

माेरङ, २१ भाद्रः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार आइतबार उपचारका क्रममा बिहान पौने एघार बजे झापा कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उपचारत महिलामा एक सातादेखि कब्जियत र गएको दुई दिनबाट ज्वरो, श्वासप्रश्वासमा समस्या, निमोनिया देखिएको थियो। झापाको मेची अस्पतालबाट रेफर भएर भदौ १८ गते प्रतिष्ठानमा भर्ना गरिएकी महिलाको प्रतिष्ठानमै स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचार भेन्टिलेटरबाट गर्नुपरेको बताएका प्रवक्ता सापकोटाका अनुसार बिरामीमा मधुमेहको समस्या पनि रहेको थियो । यससँगै प्रदेशमा ४० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेश १ बाट २८ जना र अन्य प्रदेशबाट १२ जनाको मृत्यु भएको छ।

सम्बन्धित खवर

Back to top button