५ कोरोना संक्रमण मुक्त भएका जिल्लाहरु


काठमाडौं, २० असोजः नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७४ दशमलव ३ प्रतिशत निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ५ जिल्लाबारे जानकारी दिए । उनका अनुसार मुस्ताङ, मनाङ, सोलुखुम्बु, रुकुम पूर्व र डोल्पा कोरोना संक्रमण मुक्त भएका छन् ।



त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०२० सहित मुलुकभर १,५५१ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । जसमा पुरुष १०४२ र महिला ५०९ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०,८१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २,३४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ६७,५४२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५६३ पुगेको छ ।








